सर्वदलीय बैठक: ओलीले संसद बचोस भन्ने नचाहेको निष्कर्ष
काठमाडौँ- नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेपछि सभामुखले आह्वान गरेको सर्वदलीय बैठक संसद भवनको ल्होत्से हलमा बएको थियो । संसदमा प्रतिनिधित्व गर्ने दलहरुले एमालेसँग सभामुखले थप संवाद गर्नुपर्ने भन्दै निस्किए ।
तर बैठकमा भने बाहिर आएभन्दा फरक छलफल समेत भएको बताइएको छ । बैठकमा सहभागी नेताहरुले ओलीको नेतृत्वमा एमालेले गरेको संसद अवरोध संसद चल्ने पुरानै मानसिकताको निरन्तरता भएको निष्कर्ष निकालेका छन्।
सोमबार संसद भवनमा भएको बैठकमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाका शीर्ष नेताहरुले एमालेका अध्यक्ष केपा शर्मा ओलीले संसदको मुख नै हेर्न नचाहेको बताएका थिए । दुई दुई पटकसम्म पहिला पनि विघटन गरेको र त्यसको निरन्तरताका रुपमा अवरोध गरेको निष्कर्ष बैठकले निकालेका हुन्।
बैठकको सुरू भएपछि नेताहरूले एमाले र ओली प्रवृत्तिबारे लामो छलफल गरेका थिए । सभामुख सापकोटाले एमालेका अध्यक्ष र प्रमुख नेताहरूसंग सम्पर्क गर्न खोजेको तर सम्पर्कमा आउन नखोजेको भन्दै गुनासो गरेका थिए ।
सभामुख सापकोटाले आफूले लगातार फोन गर्दा पनि ओलीले फोन नउठाएको बताएका थिए । ओली र एमालेबारे छलफल भएपछि सापकोटाले अवरुद्ध संसद खुलाउन कसरी अघि बढ्नुपर्छ भन्ने सुझाव मागेका थिए । उनले विपक्षीसँग संवादको प्रयास भए पनि उसले नचाहेको गुनासो नेताहरुसँग गरे। सभामुख सापकोटाले भनेका थिए, ‘उहाँहरु संवादबाट टाढिनु भएको छ। सभामुखले गरेन भन्ने तर व्यवाहारमा सभामुखले छलफल गर्न खोज्दा आउनुभएन। बिहान पनि मैंले छलफलम आउनका लागि कुरा गर्न खोजेँ। तर विपक्षी दलका नेताले फोन अफ गर्नुभयो।’
उनले आफू संविधान र कानुनप्रति प्रतिबद्ध रहेको जनाउँदै संसदबाट जनतालाई निराश नपार्ने बताए। सापकोटाले भने, ‘जनतालाई निरास बनाउँदिन। संविधान, कानुनअनुसार नै काम गरको छु। निष्ठाका साथ लाग्छु। निरन्तर छलफल जारी राख्छु।’ बैठकमा सहभागी एकीकृत लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले भने अरु नेताहरुको भन्दा भिन्न विचार व्यक्त गरेका छन्। उनले संसद अवरोध यसअघि पनि हुने गरेको र अहिले हुनु नौलो नभएको टिप्पणी गरेका थिए।
तर जसपाका अध्यक्ष उपेन्द्र यादवले भने एमाले अध्यक्ष केपी ओलीको संसद विरोधी चरित्र अहिले पनि देखिएको दाबी गरे। उनले भने, ‘ओलीजीले संसद हिजो पनि चाहनुभएको थिएन। विघटन गर्नुभयो। अहिले पनि चाहनु भएको छैन। त्यहीँ भएर अवरोध गर्दै हुनुहुन्छ।’ उनले सदन खुलाउनका लागि संवाद जारी राख्न सभामुखलाई सुझाव दिए।
प्रमुख प्रतिपक्षी दल एमालेले आफूले कारबाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने र सभामुखले पदबाट राजीनामा दिनुपर्ने माग राख्दै भदौ २३ गतेदेखि संसद अवरोध जारी राखेको छ।
पार्टीले कारबाही गरिसकेका सदस्य पदमुक्त भएको सूचना नटाँसेर सभामुखले एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाएको छ। उसले भदौ २३ यता सातवटा बैठकमा नाराबाजी गर्दै आएको छ। एमालेको निशानामा सभामुख सापकोटा र नेकपा एकीकृत समाजवादीका सांसद परेका छन्।
सर्वदलीय बैठकमा समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले संसदमा लगाएको नाराले सभ्यताको सीमा नाघेको टिप्पणी गरे। उनले सदनमा असभ्य प्रतिपक्ष हुनु दुःखद् भएको उल्लेख गरे।
अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘विपक्षीको नाराबाजीले संसदमा सभ्यताको सीमा नाघेको छ। यस्तो प्रतिपक्ष हुन दुखद् हो। जसरी हुन्छ असहमत हुनेहरुको मानमर्दन गर्नु नै प्रतिपक्षको उद्देश्य बनेको छ।’ उनले सदनलाई निष्कृय नबनाउन सुझाव दिए।
विभाजन भई बनेको एकीकृत समाजवादीका सांसदलाई एमालेले ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘सभामुख मुर्दावाद’ जस्ता नाराबाजी गर्दै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षीलाई सहमतिमा ल्याउन आफूले प्रयास जारी राखेको दाबी गरे।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि संसदलाई जारी राख्नुपर्ने बताए। संसद विरोध भावना एमालेमा अहिले पनि जागृत रहेको दाहालको मूल्यांकन थियो। विपक्षीलाई सहमतिमा ल्याउनु प्रयास जारी राखेर अघि बढ्न उनले सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव।
बैठकपछि जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आफूहरु सदन खुलाउन सभामुखलाई संवाद जारी राख्न सुझाव दिएको जानकारी दिइन्। उनले भनिन्, ‘हामीले संसद खुलाउन संवाद जारी राख्नुहोस् भनेर सभामुखलाई सुझाव दिऔँ।’
उनले कानुनअनुसार नै पार्टी विभाजन भएर एकीकृत समाजवादी बनिसकेको अवस्थामा एमाले अवरोध गर्नु ठीक नभएको बताइन्।
पौडेलले भनिन्, ‘नियम अनुसार नै कानुनले दिएको अधिकारले नै अलग पार्टी बनिसकेको छ। यस्तो अवस्थामा लिँडेढिपी हठ र इगोलाई लिएर संसदलाई निष्कृय बनाउनु ठीक होइन। संसद प्रतिपक्षको हो उसले विधिसम्मत ढंगले जानुपर्छ। र निकास दिनुपर्छ। अर्को विकल्प छैन।’