सर्वदलीय बैठकमा के भयो ?
काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणविरुद्ध लड्ने विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सरकारद्वारा गठित उच्चस्तरीय समितिले बोलाएको बैठकमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भइरहेको प्रयास र भावी रणनीतिबारे छलफल भएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रम पोखरेलले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा केही महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताए ।
‘कोरोना भाइरस संक्रमणको सम्भावनालाई ख्याल गरेर जुन बनाएका थियौं उच्चस्तरीय समिति, त्यो उच्चस्तरीय समितिले गरेका कामबारे जानकारी गरायौं, उहाँहरूले राम्रो कामका लागि धन्यवाद र केही महत्त्वपूर्ण सुझाव दिनुभएको छ । हामीले यही उद्देश्यका लागि बैठक बोलाएका थियौं जुन सफल भएको छ,’ उपप्रम पोखरेलले भने ।
समन्वयात्मक ढंगले सूचना सम्प्रेसण गर्ने र स्वास्थ्य संस्थाहरूलाई पनि यही बेलामा सक्षम बनाएर लैजाने लगायतका सुझाव प्राप्त भएको पोखरेलले जानकारी गराए ।
उनले सरकारको तयारी र कामको विषयलाई सबै दलले अत्यन्तै सकारात्मकरूपमा लिएको जानकारी दिए ।