शिक्षामन्त्री पोखरेलले भने: मृत्यु संस्कार अन्धविश्वास हो, बदल्नुपर्छ - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

शिक्षामन्त्री पोखरेलले भने: मृत्यु संस्कार अन्धविश्वास हो, बदल्नुपर्छ



ओखलढुंगा- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यमान मृत्यु संस्कार अन्धविश्वास भएकोले यसलाई बदल्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले अब मृत्यु संस्कार परिवर्तन गर्नुपर्ने बताएका छन् । नेकपाका नेता पेशल खतिवडाका बुवाको दशौँ पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा उनले यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले हाम्रा संस्कृतिले हाम्रो जीवनलाई सहज बनाउनु पर्नेमा जटिल बनाएका कारण अब पुराना कुराहरूलाई परिवर्तन गर्नुपर्ने बताए ।

संस्कृति सरल बनाउन सरल तरिकाले अवलम्बन गरे पुग्ने भन्दै जटिल र पीडामा परेका मान्छेलाई थप पीडा हुने किसिमका मृत्यु संस्कार रुपान्तरण आवश्यक रहेकोमा जोड पोखरेलले दिए ।

पोखरेलले खतिवडाको थालनीले परम्परा ठिक कि रुपान्तरण भन्ने बहस सुरु भएको बताए । यस्तो बहस थालनी गरेर सांस्कृतिक रुपान्तरणको अभियन्ता बनेकामा खतिवडालाई धन्यवादसमेत दिए ।

कार्यक्रममा हिन्दू ब्राह्मणको मृत्यु संस्कारमा १३ दिनसम्म कुरीमा बसेर आफै पकाएर खानु पर्ने, अन्य जातसँग दोहोरो बोल्न नहुनेजस्ता परम्परा छन् । यस्ता परम्परा रुपान्तरण आवश्यक भएको नेकपाका जिल्ला इञ्चार्ज तथा सांसद यज्ञराज सुनुवारले बताए ।

नेकपाको स्थायी कमिटी सदस्य खतिवडा बाबुको काजकिरिया गर्न कपाल काटेर कुरीमा बसेका छैनन् । उनि मंसिर २९ गते बाबुको निधन भएपछि दाहसंस्कारमा सहभागी भए । घर फर्केर बाबुको फोटोमा फूल चढाए, धुप बालेर श्रद्धाञ्जली अर्पण गरे । दशौं दिन सभा आयोजना गरेर पार्टीका नेताहरु सहभागी गराए ।

खतिवडाका दुई भाइहरु समाजको आग्रहमा परम्परागत रुपमा काजकिरियामा बसेका छन् । नरेन्द्र नेकपाको मोलुङ गाउँपालिका कमिटीका इञ्चाज हुन भने सुरेन्द्र शिक्षक ।

परम्परागत काजकिरियामा बसेका नरेन्द्रले दाजुले संस्कार परिर्वतनको कुरा छलफल गरे पनि परिवारका सदस्य, तथा समाजका अन्य व्यक्तिहरुले परम्परा तोड्न नहुने भनेपछि आफूहरुले सल्लाहमै फरक–फरक तरिकाले कामकाज गरेको जानकारी दिए ।