स्वास्थ्य सङ्कटकालबारे स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयलाई तयारीमा लाग्न निर्देशन - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

स्वास्थ्य सङ्कटकालबारे स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयलाई तयारीमा लाग्न निर्देशन



काठमाडौँ- सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सङ्कटकाल लगाउनेबारे छलफल भएको छ । कोभिड-१९ को महामारी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अगाडि सारेको स्वास्थ्य सङ्कटकाल प्रस्तावमाथि बैठकमा छलफल भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा सोमबार साँझ बसेको बैठकमा स्वास्थ्य सङ्कटकाल, सङ्क्रामक रोग ऐन, २०२० संशोधन, एकीकृत स्वास्थ्य प्रणाली, खोप र स्वास्थ्य सामग्री खरिद, एकद्वार प्रणालीबाट सूचना सङ्कलन, प्रवाह र कार्यान्वयनमा केन्द्रित छलफल भएको स्रोतको दाबी छ ।

बैठकमा लामो छलफलपछि स्वास्थ्य सङ्कटकाल र सङ्क्रामक रोग ऐन संशोधनका विषयमा स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयलाई थप गृहकार्य गर्न र तयारीमा लाग्न निर्देशन दिइएको छ ।

मन्त्रिपरिषद्ले ऐन संशोधनका लागि यसअघि नै सैद्धान्तिक सहमति दिइसकेको थियो। एक अर्का मन्त्रीका अनुसार बैठकमा द्रुत रूपमा सेना परिचालन सम्बन्धी पनि छलफल भएको थियो।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी)को आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीको एकीकृत स्वास्थ्य प्रणाली अवलम्बनका लागि प्रस्ताव अगाडि बढाउन निर्देशन दिएका थिए ।