साना उद्योगमा २० अर्ब लगानी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

साना उद्योगमा २० अर्ब लगानी



श्यामशंकर पाण्डे
भैरहवा । रूपन्देहीमा साना तथा घरेलु उद्योगमा २० अर्बभन्दा बढीको लगानी भएको छ । जिल्लामा हाल ११ हजार ५ सय ६४ वटा साना तथा घरेलु उद्योगहरू सञ्चालनमा रहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका अनुसार यी साना तथा घरेलु उद्योगमा १९ अर्ब ८४ करोड ९७ लाख ५५ हजार रुपैयाँ लगानी भएको छ । खास गरी १० वर्षे जनयुद्ध र त्यसयता अस्थिर राजनीतिले गर्दा पलायन भएका साना उद्योगीहरू पछिल्लो समय फस्टाउन थालेका हुन् ।

मुलुकमा लगानीमैत्री वातावरण बन्दै जाँदा सानो पुँजीका उद्योगहरू बढ्दै गएका हुन् । राज्यले श्रमप्रधान तथा ऊर्जा खपत न्यून हुने प्रकृतिका उद्योगलाई घरेलु र तीन करोडसम्मको स्थिर पुँजी लगानी हुने उद्योगलाई साना उद्योग अन्तर्गत राखेको छ ।

‘कम लगानीमा सञ्चालन गर्न सकिने र ऊर्जा तथा कामदारको खपत धान्न सकिने भएपछि साना तथा घरेलु उद्योगहहरूमा लगानी बढ्दै गइरहेको छ’, घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका उद्योग अधिकृत युवराज पौडेलले भने । रूपन्देहीमा घरेलु उद्योग अन्तर्गत पर्ने उद्योगको सङ्ख्या ७ हजारको हाराहारीमा छ भने बाँकी साना उद्योग छन् ।

विशेष गरी पछिल्ला वर्षहरूमा रोजगारीका लागि विदेश गएर फर्केकाले साना तथा घरेलु उद्योगमा लगानी गर्ने क्रम बढ्दो छ ।

यससँगै मुलुकमा स्थिरताको अपेक्षा र रूपन्देही लगानीका हिसाबले राम्रो जिल्ला भएकाले पनि यहाँ ठुला उद्योगसँगै घरेलु तथा साना उद्योगहरूमा लगानी बढ्दै गइरहेको छ । ‘मुलुकले स्थिर गति लिँदा लगानीका वातावरण बन्छ’, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका कार्यकारी सचिव आनन्द खनालले भने– ‘रूपन्देहीको समस्या भनेकै विद्यतु हो, यसलाई समाधान गरे लगानी दोब्बर हुन्छ ।’ खनालले पूर्वाधार विकास गरे साना तथा घरेलु उद्योगका साथै ठुला उद्योगमा पनि प्रशस्त लगानी भित्राउन सकिने बताउँदै उत्पादित वस्तुको बजार प्रवर्द्धन र सुरक्षा व्यवस्था पनि राम्रो हुनु पर्ने बताए ।

स्वदेशमा दक्ष जनशक्ति नहुँदा र युवापुस्ता विदेश पलायन हुँदा जिल्लामा सञ्चालित ठुला उद्योगहरूमा भारतीय नागरिक बढी रोजगारीमा छन् ।

तर होटेल तथा रेस्टुरेन्ट, छाला जुत्ता उद्योग, सःमिल, सिलाइकटाई, हस्तकला, धातुजन्य उद्योग, खाद्य तथा पेय, इन्जिनियरिङ वर्कसप, फर्निचर, कृषि तथा पशु फार्म, निर्माण जस्ता साना तथा घरेलु उद्योगमा भने नेपालीले रोजगारी पाएका छन् । जिल्लामा सञ्चालित यस्ता उद्योगहरूमा करिब १७ हजारले रोजगारी पाएका छन् । जसमा १३ हजार ३ सय पुरुष छन् भने ३ हजार ५ सय ६६ महिला छन् ।

पछिल्ला वर्षहरूमा खाद्यान्न, पशुपंक्षीजन्य, काठजन्य, ग्रिल, स्टिल, आल्मुनियम, कृषिजन्य, पर्यटकजन्य उद्योगहरू बढी खुल्ने गरेको उद्योग अधिकृत पौडेलले बताए । यससँगै हस्तकला, सिलाइकटाइ ब्युटिपार्लर जस्ता कम लगानीमा सञ्चालन गर्न सकिने उद्योगहरू पनि खुल्ने क्रम बढेको उनले बताए । ‘पछिल्ला वर्षहरूमा जिल्लामा थुप्रै विकासका कामहरू भइरहेका छन् । ठुला विकासका योजनाहरू बढेपछि लगानीको वातावरण पनि बढ्दै जान्छ’, उद्योग अधिकृत पौडेलले भने– ‘मुलुकमा तीन तहको निर्वाचन भइसकेको छ, अब झन् लगानीको वातावरण बन्दै जान्छ ।’ जिल्लामा साना तथा घरेलु उद्योग अन्तर्गत हाल ५ हजार ६ सय ४८ उत्पादनमूलक, ३ हजार २ सय ५५ सेवामूलक, १ हजार ९ सय ६८ पर्यटनमूलक र ६ सय ९३ कृषिजन्य उद्योगहरू सञ्चालनमा छन् । यीमध्ये पाँच वर्षको अवधिमा मात्रै ५ हजार ३ सय ६८ उद्योग नयाँ खुलेको घरेलुले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७४÷०७५ को पुस मसान्तसम्म मात्रै ६ सय ६६ वटा नयाँ साना तथा घरेलु उद्योग थपिएका छन् । आब ०६९÷०७० मा ८ सय ५४, ०७०÷०७१ मा ९ सय ६६, ०७१÷०७२ मा ८ सय ९४, ०७२÷०७३ मा ८ सय ५० र ०७३÷०७४ मा १ हजार १ सय ४७ नयाँ उद्योग थपिएका थिए ।