संसद बैठक बस्दै: यस्ता छन् सत्ता पक्ष र विपक्षीका छुट्टाछुट्टै रणनीति
काठमाडौं- प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजी र अवरोध गरेपनि सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पास गर्ने भएको छ । सर्वदलीय बैठक र संवादमा पनि एमाले नआएपछि सरकारले बजेट पारित गर्ने तयारी गरेको हो ।
मंगलबार बस्ने संसद बैठकको सम्भावित कार्यसूची अनुसार सरकारले पेलेरै संसद चलाउने र बजेट पास गर्ने तयारी गरेको देखिन्छ । एमालेको अवरोधकाबीच पारित गरिएको प्रतिस्थापन विधेयक पास पनि यहि शैलीमा हुने देखिएको छ ।
एमालेले नारावाजी र अवरोध गर्ने र सहमतिमा पनि नआउन भएपछि सरकारले यस्तो रणनीति बनाएको हो । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले २३ भदौ यताका सबै बैठकमा वेल घेर्दै आएको छ ।
लागातार बैठकहरू एमालेको नाराबाजी र अवरोधले प्रभावित हुन थालेपछि सभामुखले आइतबारदेखि प्रतिपक्षी दल र अन्य दलसंग सम्वाद थालेका छन् । आइतबार केहीबेर संसद बैठक रोकेर गरिएको प्रयास असफल भएको थियो । सहमति नजुटेपपछि आइतबार नै बसेको आठौं प्रतिनिधि सभा बैठकमा पनि एमालेले अवरोध जारी राख्यो ।
सभामुख सापकोटाले संसद्को गत्यावरोध अन्त्य गर्नका लागि सोमबार सर्वदलीय बैठक बोलाएका थिए । उनले बोलाएको बैठकमा सबै दल सहभागी हुँदापनि प्रतिपक्षी दल एमालेले भने बहिस्कार गरेको छ । नेताहरूले बैठकमा एमालेसंग थप छलफल गर्न सुझाव दिँदै एमालेले बैठक चलाउन रुची नदेखाएको निष्कर्ष निकालेको थियो ।
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा स्वयं एमाले नेताहरु सहभागी भएन । संसद भवनको लोत्से हलमा भएको छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।
तर एमाले नेताहरु नै अनुपस्थित भएपछि छलफलले कुनै निष्कर्ष निकाल्न सकेन । ‘जोसँग सम्बन्धित थियो, उहाँहरु नै नआइदिनु भएकाले कुनै निष्कर्षमा पुग्न सकिएन,’ बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले सञ्चारकर्मीहरुसँग भनिन् ।
सत्तापक्ष छुट्टै रणनीतिमा
१५ जेठमा आएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भयो भने सरकारले २५ भदौमा प्रतिस्थापन विधेयक ल्यायो । अब ३ साउनको ६० दिन अर्थात ३० भदौभित्र प्रतिस्थापन विधेयक पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले अब एमालेले नाराबाजी गरिरहेपनि बैठक अघि बढाउने र विधेयक पास गर्ने सत्तारुढ दलहरुको तयारी छ ।
कांग्रेसले बजेट पास गर्ने विकल्प साँघुरिएको बताएको छ । अब कुनै दलले अवरोध गरेका कारण सदनको कार्यसूची नरोकिने बताएको छ । प्रतिनिधिसभा बैठक आफ्नो कार्यसूचीमा अगाडि बढ्ने कांग्रेस नेताहरूले बताएका छन् ।
यस्तो छ कार्यसूची
संघीय संसद सचिवालयका अनुसार भोलि २९ गते प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यसमाथि सांसदहरुले छलफल गर्छन् र उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिनेछन् । प्रमुख विपक्षी सांसदहरु वेलमा नाराबाजी गर्ने भएकाले सत्तारुढ सांसदहरुले छलफलमा भाग नलिई प्रक्रिया छोट्याउन पनि सक्छन् ।
त्यसपछि सांसदहरुलाई संशोधन हाल्ने समय दिनुपर्छ । तर संसद सञ्चालनसम्बन्धी नियमावलीका विभिन्न दफा निलम्बन गरेर प्रक्रिया छोट्याउने र एमालेको विरोधै बीच बजेट पास गर्ने सत्तारुढ दलहरुको तयारी छ ।
एमालेले सदनको अवरोध जारी राख्ने
एमालेले भने संसद अवरोधलाई जारी राख्ने भएको छ । यसअघि उग्र रूपमा विरोध गरेको एमाले केहि लचक भएपनि विरोध र नाराबाजी भने जारी राख्ने रणनीतिमा छ । सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नगएको प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभामा नाराबाजी कायम राख्ने बताएको छ ।
एमालेले भने सदन सुचारू गर्नका जागी दुई सर्त राखेको छ । सदन सञ्चालन गर्न सभामुखले एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टास्ने वा पदबाट राजीनामा दिनुपर्ने एमालेको अडान छ ।
सोमबार एमालेका सचेतक विशाल भट्टराईले भनेका थिए, ‘संसदको अवरोध हटाउने हो भने कि एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्नु पर्यो कि राजीनामा ।’