सरकारको नीति तथा कार्यक्रममा छिर्न नपाउने यी हुन् अभागी सांसदहरू
काठमाडौं- कोरोना संक्रमण जोखिमका कारण नौ जना सांसदहरु सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत हुने संघीय संसदको बैठकमा सहभागी हुन नपाउने भएका छन् ।
सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत हुने संघीय संसदको बैठकमा प्रतिनिधिसभाका ७ र राष्ट्रियसभाका २ जना सांसदहरु बैठकमा प्रवेश गर्न नपाउने भएका हुन् ।
प्रतिनिधिसभाका सांसदहरुमा किशोरसिंह राठौर, कुमारी थेबे, जयकुमार राई, नरमाया ढकाल, नागेन्द्र कुमार, रुबी नाज, सूर्यबहादुर केसी बैठकमा प्रवेश पाउने छैनन् भने राष्ट्रियसभाका नरपति सुनार र राधेश्याम पासवान पनि बैठकमा सहभागी हुन पाउने छैनन् ।
निलम्बित चार जना बाहेक हाल कूल ३२९ जना सांसद छन् । ९ जना सांसदले कोरोना परीक्षण नगराएकाले उनीहरु संघीय संसदको बैठकमा प्रवेश पाउने छैनन् । जसले गर्दा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा ३२० जना सांसदहरु उपस्थित हुने छन् ।
प्रतिनिधिसभाका विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार गरी चार सांसद निलम्बनमा छन् । राष्ट्रियसभामा एक जना सांसद मनोनित हुन बाँकी छ ।
सरकारको नीति तथा कार्यक्रममा सहभागी हुने सबैले अनिवार्यरुपमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने नियम रहेको छ ।