तीन कक्षा सम्हाल्ने एक्ली शिक्षिका - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तीन कक्षा सम्हाल्ने एक्ली शिक्षिका



बुद्धिमान पुन
सल्यान । आधारभूत विद्यालयमा कति जना शिक्षक, शिक्षिका हुन्छन् ? अनुमान हुन सक्छ ४ जना, ६ जना । तर तपाईलाई अनौठो लाग्नसक्छ । सल्यानको एक विद्यालयमा एक जना मात्रै शिक्षिका छन् । उनी पनि बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता ।

अहिले सिंगो विद्यालय उनकै भरमा सञ्चालन हुँदै आएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १० मधानामा रहेको कालिका आधारभूत विद्यालय अहिले एक जना सहयोगी कार्यकर्ता (शिक्षिका)को भरमा सञ्चालन हँुदै आएको हो ।

कक्षा ३ सम्म सञ्चालन भएको यस विद्यालयमा अहिले एक जना मात्रै शिक्षिका रहेकी छन् । ‘पहिले अरू पनि हुनु हुन्थ्यो, तर लामो समय भैसक्यो, यहाँ कोही आउनु भएको छैन, अहिले एक्लै विद्यालयका सबै बिद्याथीहरूलाई पढाउनु पर्ने बाध्यता भएको छ’ –शिक्षिका बिमला बस्नेत थापाले भनिन् ।
उनले अहिले बालविकास, कक्षा १, २ र ३ का सबै विद्याथीहरूलाई संगै राखेर पढाउने गरेको बताइन् । ‘विद्यालयमा अरू कोही पनि शिक्षक छैनन्, एक्लै विद्यालय चलाउनु परेको छ, अलग–अलग राखेर बढाउन समस्या भयो, बालविकासकालाई पढाउँदा, कक्षा १, २ र ३ का विद्यार्थीहरू बाहिर निक्लिएर खेल्न शुरु गर्छन्, कक्षा १, २ वा ३ कुनै एकमा जाँदा अरू कक्षाका सबै विद्यार्थीहरू बाहिर निस्कन्छन्’ –उनले भनिन् ।

शिक्षिका थापाले अहिले सबै विद्यार्थीहरूलाई एउटै कक्षामा राखेर पढाउने गरेको बताइन् । ‘मैले सबै विद्यार्थीहरूलाई एउटै कक्षामा राखेर पढाउने गरेकी छु’ उनले थपिन –‘तर सँगै राखेर पढाउँदा विद्यार्थीहरूले पढाएको केही पनि बुझ्दैनन् ।’ उनले आफू कुनै कारणवस बाहिर जाँदा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको बताइन् ।

भवन भत्किँदा समस्या
शिक्षिका थापाले विद्यालयमा २ वटा भवन भए पनि अहिले दुई कोठे भवन भत्कँदा पठनपाठनमा समस्या भएको बताइन् । ‘२०७२ सालको भूकम्पले भवन चर्किएको थियो, पछि बर्षायाममा ढल्यो, अहिले भवनको अभाव छ’– उनले भनिन् । अहिले ३ कोठे अर्को भवनमा बिद्यार्थीहरूले पढिरहेका छन् । ‘एउटा कोठामा अफिस छ, अर्कोमा सामानहरू छन्, बाँकी एउटामा सबै विद्यार्थीहरूलाई संगै बसाएर पढाउने गरेकी छु’– उनले भनिन् ।

यस विद्यालयमा ३७ जना विद्यार्थीहरूले अध्ययन गर्दै आएका छन् । अहिले बालविकासमा १५ जना, कक्षा १ मा ७ जना, कक्षा २ मा १० जना र कक्षा ३ मा ५ जना विद्याथीहरू रहेका छन् । विद्यालयमा शिक्षक, शिक्षिका नहुँदा पढाई नहुने भन्दै केही विद्यार्थीहरू विद्यालय समेत आउन छोडेका छन् ।

वि.सं. २०६१ सालमा स्थापना भएको यस विद्यालयले अहिलेसम्म पनि कार्यालय सहयोगी पाउन सकेको छैन । बेला बखतमा कार्यालय सहयोगीका विषयमा कुराकानी चले पनि अहिलेसम्म विद्यालयले कार्यालय सहयोगी नपाएको विद्यालय स्रोत बताउँछ । विद्यालयमा कार्यालय सहयोगी नहुँदा विद्यालय सरसफाईदेखि पानी बोकेर समेत आफैले खुवाउनु पर्ने बाध्यता भएको शिक्षिका थापाले बताइन् ।

प्रधानाध्यापक आउँदैनन्
विद्यालयका प्रधानाध्यापक दिपक थापा विद्यालय आउन छोडेका छन् । उनले पिसिएफबाट तलब खान्थे । तर अहिले पिसिएफबाट तलब आउन छोडेको छ । उनी बिगत केही महिनादेखि विद्यालयमा नआएको विद्यालय स्रोत बताउँछ । तर सहयोगी कार्यकर्तालाई तलब खुवाउनेदेखि लिएर अन्य कामहरू भने गर्दै आएका छन् ।