अमेरिका सकिनै लागेका केहि लक्षण - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

अमेरिका सकिनै लागेका केहि लक्षण



एजेन्सी- कोरोना महामारीले सबैभन्दा आक्रान्त बनेको देश हो अमेरिका । अब त घट्ला भनिएको महामारी झन् झन् बढिरहेको छ । बिचमा केहि मथ्थर बनेको संक्रमण पछिल्ला दिनमा झन् आक्रामक रूपमा बढिरहेको छ । अनेक बितण्डामा फसेको त्यहाँको नेतृत्व निकम्मा बनेको आरोप सर्वत्र छ ।

कहिले चीनलाई गाली गरेर त कहिले नागरिकप्रति अनुत्तरदायी बनेर सरकार झन् आलोचित र अलोकप्रिय बनिरहेको छ । दैनिक हुने आन्दोलन मथ्थर भएको छैन । आर्थिक अवस्था निकै कमजोर बनेको तथ्यांक सार्वजनिक भएको छ । यस्तो महामारीमा पनि राष्ट्रपतिलाई चुनावको चटारो छ ।

सामाजिक दुरी राख्नैपर्ने अवस्थामा हजारौँ मानिस जम्मा पारेर राष्ट्रपतिले नै चुनावी सभा गरिरहेका छन् । सत्ता सम्हालेको समयदेखि नै आलोचित बन्दै आएका डोनाल्ड ट्रम्प ऐले निकै अलोकप्रिय पात्र बनिरहेका छन् । रंगभेदविरुद्ध निर्मम बनिरहेका उनि केहि कट्टर समूहबाहेक सबैबाट एक्लिएका छन् । धेरै विश्लेषकहरूले अमेरिकाको युग सकिएको र युग सिध्याउने नेतृत्व डोनाल्ड ट्रम्पले नै गरेको निष्कर्ष निकालेका छन् ।

अमेरिकामा कोरोनाको पछिल्लो झनै डरलाग्दो अवस्था

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ४० हजार संक्रमित भएका छन् । रोग नियन्त्रण केन्द्र (सीडीसी) ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी रहेको अनुमान गरेको हो ।

कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि अप्रिल २४ का दिन ३६ हजार ४ सय जना संक्रमित भएका थिए । संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको छ ।

सबै व्यवसाय सुचारु गर्ने जनाएको टेक्सास राज्यले आफ्नो योजना स्थगित गरेको जनाएको छ । गभर्नर ग्रेग अबोटले अस्थायी रूपमा राज्य खुला गर्ने निर्णय स्थगित गरिएको जनाएका छन् । टेक्सास राज्यमा बिहीबार एकै दिन ५ हजार ९ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो । टेक्सासमा हालसम्म ४७ जनाले भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

कोभिड–१९ का कारण अमेरिका विश्वमै सबैभन्दा प्रभावित भएको छ । शुक्रबार साँझसम्म अमेरिकामा २४ लाख जना भाइरसबाट संक्रमित भइसकेका छन् । भाइरसका कारण १ लाख २२ हजार ३ सय ७० जनाको मृत्यु भएको छ ।

सीडीसी प्रमुख डा. रोबर्ट रेडफिल्डका अनुसार पछिल्लो समय देशका दक्षिणी र पश्चिमी राज्यहरूमा संक्रमितको संख्या निकै बढेको छ । यसबारे अध्ययन अनुसन्धान गरिरहेका वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् ।

उनीहरुले ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाएमा त्यो सख्या १ लाख ४६ हजारमा सीमित हुने अनुमान पनि गरेका छन् । सीडीसी प्रमुख रेडफिल्डले हाल संक्रमित भएकाहरु प्रत्येकबाट कम्तीमा १० जनामा संक्रमण फैलिएको देखिएको जनाएका छन् ।

अहिलेसम्म लक्षण देखिएका र चासो देखाएकाहरुलाई मात्रै कोरोना परीक्षण गर्ने गरिएकाले संक्रमितको संख्या अहिले सार्वजनिक भएको भन्दा दस गुण हुन सक्ने उनको भनाइ छ । यसका आधारमा अमेरिकाको जम्मा जनसंख्याको ५ देखि ८ प्रतिशतलाई भाइरसले असर गरिसकेको देखिएको छ ।

संक्रमणको क्रम तीव्र गतिमै रहेकाले सामाजिक दूरी कायम राख्ने, मास्क, पन्जा र स्यानीटाइजर लगाउने, हात धुनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताका कार्यहरु गर्न स्वास्थ्य अधिकारीहरुले आह्वान गरेका छन् । पछिल्लो समयमा हेलचेक्रयाइँ पनि बढ्दै गएकाले मानवीय क्षति अझ धेरै हुन सक्ने उनीहरुको चिन्ता छ ।