सभामुखमा टाउको दुखाई: ओली-प्रचण्ड कै सम्वन्ध बिग्रने डर - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सभामुखमा टाउको दुखाई: ओली-प्रचण्ड कै सम्वन्ध बिग्रने डर



काठमाडौं- प्रतिनिधिसभा सभामुखविहीन भएको चार महिना बितीसक्दा पनि सत्तारुढ नेकपाका नेताहरुले साझा उम्मेदवार तय गर्न नसकेपछि सभामुख चयनको विषय झनै सकसपूर्ण भएकोे छ ।

समाचारमा शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच करिब तीन घण्टा भएको छलफल पनि टुंगोमा पुग्न सकेन ।

‘आइतबार डाकिएको संसद् बैठक भरसक स्थगित गर्न नपरोस् भनेर उहाँहरु छलफलमा जुट्नु भएको थियो,’ अध्यक्षद्वय निकट स्रोतले भन्यो, ‘तर सहमति भएन, तत्काल सहमति हुने गरी अघि बढेको पनि देखिएन ।’ छलफलमा अध्यक्ष दाहालले एकीकरण पूर्वको सहमतिअनुसार पूर्व माओवादीलाई सभामुख दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

‘सचिवालयका नौ सदस्यमध्ये चार जना त हामीलाई सभामुख दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, बादलजी (गृहमन्त्री रामबहादुर थापा) को पनि सभामुख यतै हुनपर्छ भन्ने लाइन हो,’ दहालको भनाइ उद्धृत गर्दै उनी निकट नेताले भने,‘विषय टुंग्याइ हालौं तपाईले अडान छाड्नु पर्‍यो ।’

प्रधानमन्त्री ओलीले भने सरकार एक जनाले र दल एक जनाले चलाउने गरी सहमति भएपछि सभामुख पनि सरकार सञ्चालन सहज हुनेगरी चुन्नुपर्ने र त्यसका लागि आफैंले रोजेको व्यक्ति चाहिने बताएका थिए । ‘तपाईले छुट्टछुट्टै भेला गरेर हाम्रा यति टाउका छन् भनेर बार्गेनिङ गर्नुहुन्छ, पछि संसदबाट सहयोग हुन्छ भन्ने के ग्यारेन्टी छ ?’

प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मलाई सरकार सञ्चालनमा सजिलो पारिदिनुहोस् ।’ ओलीले दाहालसँग छुट्टै गठबन्धन भेला गरेर राम्रो नगरेको बताएका थिए । ओली र दाहाल आ–आफ्ना कुरामा अडिग रहेपछि सभामुख चयनको विषयमा पेचिलो बन्दै गएको छ ।

यता सभामुख बन्न उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले संसद्लाई बन्धक नबनाउन आग्रह गर्दै सभामुखबारे छिटो निर्णय लिन आग्रह गरेकी छिन् । उनले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग त्यस्तो आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगरे उनले आफूलाई सभामुख बनाउन आग्रह गरेकी थिइन् । कान्तिपुर दैनिकले लेखेको छ