केन्द्र, स्थानीय तह र भ्रस्टाचार सबै नेकपाकै कब्जामा: बादल
पर्वत- नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले सबै भ्रष्टाचारीलाई कारबाही गर्दा स्थानीय तह नै खाली हुने खरता रहने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्वनको नयाँ भवन उद्घाटनका लागि आइतबार पर्वत पुगेका गृहमन्त्री थापाले भने, ‘अख्तियारबाट थाहा पाएको कुरा अनुसार सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको छ । अख्तियारले भनेको छ, स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने स्थानीय तहहरू नै खाली हुने अवस्था छ ।’
स्थानीय तहका जनप्रतिनिधिलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गरिरहेको घटनाहरु स्मरण गराउँदै उनले स्थानीय तहमा भइरहेको भ्रष्टाचारको अवस्था देखाएको संकेत गरे । उनले नेकपाले भ्रष्टाचार रोक्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।
‘झन्डै दुईतिहाइ बहुमतको सरकार केन्द्रमा रहनु र अधिकांश स्थानीय तहमा नेकपाकै जनप्रतिनिधिको वर्चस्व रहेका कारण नेकपाले नै भ्रष्टाचार रोक्ने गरी काम गर्नुपर्छ,’ उनले भने ।
उनले एक फरक सन्दर्भमा पुरुष मात्र भएको पार्टीले समाजवादको यात्रा तय गर्न नसक्ने बताए । उनले भने, ‘नीतिगत रूपमा महिलाका लागि ठाउँहरू दिइएको भए पनि व्यवहारिक रूपमा त्यो लागु नहुनु दुःखद छ ।’