'स्थायी कमिटी, केन्द्रीय कमिटी, संसदीय दल र संसद् सबैमा अल्पमत' - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

‘स्थायी कमिटी, केन्द्रीय कमिटी, संसदीय दल र संसद् सबैमा अल्पमत’



काठमाडौं- नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली लोकतन्त्रलाई बलियो बनाउने राज्यका संरचनालाई भत्काउन उद्यत् रहेको बताएका छन् । प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत दुरुपयोग गर्ने कोसिस गरिरहेको खनालको दाबी छ ।

‘हामी देशमा एउटा परिपाटी बसाउन खोज्दै छौँ । लोकतन्त्र भनेको के हो ? लोकतन्त्र कसरी चल्छ ? विभिन्न संस्थागत संरचनाले कसरी भूमिका खेल्नुपर्छ भन्ने विषयमा हामी एउटा परिपाटी बसाउन खोज्दै छौँ । तर, अहिले प्रधानमन्त्रीले ती सबै संरचना भत्काउन खोज्दै हुनुहुन्छ । राष्ट्रपतिको समेत दुरुपयोग गर्ने कोसिस गरिरहनुभएको छ । राष्ट्रपति दुरुपयोगमा आउनु हुँदैन । राष्ट्रपति भनेको गरिमामय साझा संस्था हो, त्यो साझा संस्थाले त्यहीअनुसार परिचालित त्यहीअनुसार परिचालित हुनुपर्छ,’ खनालले जनता टेलिभिजनलाई बिहीबार साँझ दिएको अन्तर्वार्तामा भनेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमै पार्टी स्थायी समिति बैठक चलिरहेका वेला हठात् आफूनजिकका मन्त्रीहरूलाई मात्रै राखेर मन्त्रिपरिषद्बाट चालू संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेर प्रधानमन्त्री ओलीले अधिनायकवादी चरित्र देखाएको र उनको नियतमाथि थप शंका उत्पन्न भएको नेता खनालको भनाइ छ । ‘पार्टी बैठक चलिरहेका वेला संसद् जारी राख्ने कि अन्त्य गर्ने भन्ने प्रधानमन्त्री एक्लैको कुरा हुन सक्दैन । कसैले त्यस्तो निर्णय गर्छ भने त्यो तानाशाही निर्णय हुन्छ, अधिनायकवादी निर्णय हुन्छ । पार्टीलाई ठाडो अपमान गरेको मानिन्छ । प्रधानमन्त्रीले त्यो गर्नुभयो, तानाशाही र अधिनायकवादी चरित्र देखाउनुभयो । यो घोर आपत्तिजनक कुरा हो । यसले पार्टीमा झन् गम्भीर परिस्थिति सिर्जना गर्छ,’ उनको भनाइ छ ।

पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले अक्षरशः मान्नुपर्ने खनालको भनाइ छ । ‘मलाई तपाईं हटाउनुहुन्छ भने म अर्को पार्टी गठन गर्छु भनेर पार्टीलाई धम्क्याउने, पार्टीलाई धाक दिने, षड्यन्त्रमूलक ढंगले अर्को पार्टीको नाम दर्ता गराउनेजस्ता षड्यन्त्र गर्नुभयो भने त्यो घातक हुन्छ,’ उनको भनाइ छ ।

प्रधानमन्त्रीको शंकास्पद गतिविधिकै कारण पार्टीका तर्फबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री र राष्ट्रपतिसँग छलफल गर्न लगाएको उनले बताएका छन् । ‘पार्टी बैठक चलिरहेका वेला तीन–चारजना मन्त्रीलाई राखेर संसद् अधिवेशन अन्त्य गरेपछि हामीले शंका गर्‍यौँ । किनभने संसद् जारी रहेको वेलामा कुनै पनि अध्यादेश ल्याउन सकिँदैन । अधिवेशन अन्त्य गरेर प्रधानमन्त्रीले त्यसप्रकारको अध्यादेश ल्याउने हो कि भन्ने हामीलाई शंका पनि लागेको छ ।

त्यही भएर हामीले अर्का अध्यक्षलाई प्रधानमन्त्रीसँग वार्ता गरायौँ । त्यति मात्रै होइन, पार्टीका तर्फबाट राष्ट्रपतिसँग पनि छलफल गर्नुस् भन्यौँ । उहाँ जानुभयो र राष्ट्रपतिलाई सोध्नुभयो, ‘३० प्रतिशतले पार्टी फुटाउन सक्ने प्रावधानसहितको अर्को अध्यादेश आउँदै छ भन्ने सुनिन्छ, के चिज हो यो ? तर, राष्ट्रपतिले अहिले त्यस्तो केही छैन भनेर भन्नुभएको छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीले ल्याउने प्रस्तावहरूमा पार्टीका अन्य नेतासँग पनि परामर्श गरेर मात्रै निर्णय गर्दा थप राम्रो हुने सुझाब पनि राष्ट्रपतिलाई दिइएको नेता खनालले बताएका छन् । ‘हामीले राष्ट्रपतिज्यूलाई पनि भन्यौँ कि प्रधानमन्त्रीले कुनै पनि अध्यादेश पठाउनुहुन्छ भने त्यस विषयमा पार्टीका अरू नेतासँग पनि सरसल्लाह गर्ने गर्नुस् । जे ल्यायो, त्यही तुरुन्तै पास गर्ने ? आज संसद् अन्त्य गर्ने भनेर अपर्झट ल्याएको प्रस्ताव तत्कालै स्वीकृत गर्नुभयो । यस्तो किन ? राष्ट्रपतिले अरूको कुरा पनि सुनेर निर्णय गर्नु राम्रो होइन र भनेर अध्यक्षले सुझाब दिनुभएको छ,’ खनालको भनाइ छ ।

पार्टी विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत संख्या हुनुपर्ने संविधानको अहिलेको व्यवस्था भएकाले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न नसक्ने नेता खनालको दाबी छ । ‘हामी फुट र विभाजनको पक्षमा छैनौँ । र, अहिलेको संविधान, ऐनकानुन र नियमअनुसार पनि पार्टी फुट्ने कुनै सम्भावना छैन । तर, कोही मान्छे पार्टीबाट चोइटिएर जान्छ, पार्टीबाट निष्कासित हुन चाहन्छ, पार्टीबाट आफैँ हट्न चाहन्छ र एकाध मान्छेलाई लिएर साना टुक्राटाक्री निर्माण गर्न चाहन्छ भने त्यो उसको कुरा हो,’ उनले भनेका छन् । प्रधानमन्त्री ओलीलाई आफू बहुमतमा रहेको सिद्ध गर्न पार्टी सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी, संसदीय दल र संसद् जहाँ भने पनि मौका दिइने खनालले बताए ।नयाँ पत्रिकामा खबर छ