भारतका सबै सिमा नाका बन्द
काठमाडौं- भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाको लागि सीमा बन्द गर्ने निर्णय लिएको छ ।
मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले सबै सीमा बन्द गर्ने निर्णय लिएको हो ।
इन्डियन एक्सप्रेसका अनुसार भारतले विदेशीलाई भीसा समेत रद्द गरेको छ । कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् ।
मानिसको यात्रामा कडाई गरिने भएको छ । कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिइएको जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधबार साँझ नै कडा निर्णय लिएको हो ।
भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ उसले गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ ।
भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । बुधबारसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको थियो ।
संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।