रहस्यमय बन्दै रुकुम काण्ड: डोरीले बाँधेको अवस्थामा शव भेटियो
काठमाडौं- रुकुममा भएको घटना झन् रहस्यमय बनेको छ । भेरी नदीमा डोरीले हात बाँधेको अवस्थामा लोकेन्द्र सुनारको शव फेला परेपछि घटना थप रहस्यमय बनेको हो ।
शनिबार रुकुम पश्चिम को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता रहेका जाजरकोटका एक किशोरको शव बुधबार फेला परेको छ । योसँगै घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
भेरी नदीमा फेला परेको शव भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनारको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डोरीले हात बाँधेको अवस्थामा सुनारको शव फेला परेको हो । उनको टाउकोमा समेत गहिरो चोट लागेको छ ।
रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा जेठ १० गते साँझ भएको घटनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बेपत्ता भएका थिए। बेपत्तामध्ये यसअघि ३ जनाको शव भेटिइसकेको छ भने २ जना अझै बेपत्ता छन्।
मल्ल थरकी प्रेमिका भगाउन भन्दै नवराज बिक जेठ १० गते साँझ १७ जना साथीसहित प्रेमिकाको गाउँ सोती पुगेका थिए। त्यहाँ पुग्दा नपुग्दै गाउँलेले लखेटेपछि उक्त घटना भएको बताइएको छ ।
वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ ।
यता, घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको प्रहरीले जनाएको छ ।