रतन तिरुवाले भने: प्रचण्ड मेरो बाबु सामानको प्रिय नेता - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

रतन तिरुवाले भने: प्रचण्ड मेरो बाबु सामानको प्रिय नेता



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार गरी पक्राउ परेका जुम्ला सिन्जाका रतन तिरुवाले आफ्नो आवेश र आवेगका कारण उक्त घट्ना घटेको स्पष्ट पारेका छन् ।

उनले अध्यक्ष प्रचण्ड आफ्नो बाबु सामानको प्रिय नेता भएको र आवेगमा यस्तो घटना घटेको समेत बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट आज अपरान्ह ५ सय धरौटीमा रिहा भएलगत्तै तिरुवाले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर यस्तो स्पष्टीकरण दिएका हुन् ।

उनले भने,‘म विद्यार्थी हुँ, कर्णालीबाट अध्ययनको लागि नै काठमाडौं आएको हुँ। यो राज्यप्रति, भूमीप्रति, देशप्रति माया र प्रेम गर्न पाउनु स्वभाविकै हो ।’

तिरुवाले आफू जनयुद्धको सहिद परिवारको सदस्य समेत रहेको स्पष्ट पारे । उनले भने,‘प्रचण्ड मेरो प्रिय नेता हो । तर, सत्यता त्यो भन्दापनि प्रिय छ । उहाँमाथि जुत्ता प्रहार गर्ने मेरो ईन्टेन्शन थिएन् । म त लोकसेवाको तयारीमा छु, म विद्यार्थी हुँ ।’ उनले आफू ५ सय धरौटीमा रिहाई भएको समेत जानकारी दिए ।

उनले आफू युवा भएकोले आवेग, आक्रोश हुनु स्वभाविक भएको समेत बताए । उनले थपे,‘दुर्घटना हुनु दुःखद् कुरा हो । नहुनु दुर्घट्ना भैहाल्यो ।’ उनले आफूलाई सोही प्रकरणमा यत्रो दिन हिरासतमा नराखेको भए हुनेथियो भन्ने आशय व्यक्त गरे ।

उनले भने,‘मेरो स्वास्थ्यपनि ठीक छैन् । पछि, कुरा गरौंला ।’ उनले आफू सहिद परिवारको सदस्य भएको सुनाउँदै आफुहरुको छुट्टै पीडा र व्यथा रहेको दुःखेसो पोखे । उनले दोहोर्याए,‘म आवेग र आक्रोशमा आएँ । हुन त उहाँहरुले मलाई त्यहीँबाट छोड्नपनि सक्नुहुन्थ्यो । यत्रो दिन हिरासतमा नराखेको भएपनि हुन्थ्यो ।’

उनले आफूले प्रचण्डसँग धेरैपटक भेटवार्ता गरेको समेत स्मरण गराए । उनले भने,‘मैले भनिहाँले, उहाँ मेरो प्रिय नेता हो । धेरैपटक उहाँसँग भेटेको छु । उहाँ प्रिय नेता हो, तर त्यहाँभन्दापनि ठूलो सत्यता छ ।’

उनले देशका सबै नेताहरुले देश बनाउनकोलागि काम गर्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘सबै नेताहरुले देश बनाउने काम गर्नुपर्छ । म देश बनेको हेर्न चाहन्छु । भत्केको होईन् ।’ उनले आफूलाई अहिलेसम्म सुरक्षासम्बन्धी कुनै धम्की नआएको भएपनि व्यक्तिगत रुपमा सुरक्षाको प्रत्याभुतिको लागि भने सरकारसमक्ष आह्वान गरेका छन् ।