भारतीय राजदूतको बिदाइमा देउवाको विशेष भोज, राजपाको पाँचतारे होटलमा पार्टी - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

भारतीय राजदूतको बिदाइमा देउवाको विशेष भोज, राजपाको पाँचतारे होटलमा पार्टी



काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई भोज खुवाएर बिदाइ गरेका छन् ।

आफ्नो निवासमै बोलाएर देउवाले सोमबार पुरीलाई बिदाई गरेका हुन् ।

बूढानीलकण्ठस्थित निवासमै पुगेका पुरीलाई देउवाले बिशेष भोजको आयोजना गरी बिदाई गरेको स्रोतले जनाएको छ ।

बिदाईका क्रममा देउवाले काँग्रेसका शीर्ष नेताहरु समेतलाई बोलाएका थिए । जसमा सबैलाई विशेष भोजको व्यवस्था गरिएको थियो ।

सो क्रममा देउवासहित शीर्ष नेताहरु र पुरीबीच करीब १ घण्टा छलफल भएको स्रोतले बताएको छ ।

राजदूत पुरी आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यही पुस १५ गते स्वदेश फर्किने तयारीमा छन् ।

आइतबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि पुरीको बिदाइमा कार्यक्रम आयोजना गरेको थियो ।

काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा एक समारोहकाबीच राजपाले राजदूत पुरीको बिदाइ गरेको थियो ।

पुरीको बिदाइका लागि आयोजित कार्यक्रममा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, संसदीय दलका नेता महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झालगायत नेताहरु उपस्थित थिए ।