प्रकाशमान सिंहले भने: काङ्ग्रेसलाई अब जनताले पत्याउँदैनन् - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

प्रकाशमान सिंहले भने: काङ्ग्रेसलाई अब जनताले पत्याउँदैनन्



काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब जनताले नपत्याउने बताएका छन् । उनले अबको महाधिवेशनमा नेतृत्व परिवर्तन नभए पार्टीलाई जनताले नपत्याउने बताएका हुन् ।

काठमाडौं महानगरपालिकामा पार्टीबाट विजयी वडाध्यक्ष र क्षेत्रीय सभापतिसँग मंगलबार छलफल गर्दै नेता सिंहले नेतृत्व परिवर्तन अनिवार्य भएको बताए ।

‘जनता सत्तारूढ दलबाट आजित भएका छन्,’ उनले भने, ‘तर कांग्रेस नेतृत्वका कारण जनता कांग्रेसप्रति आकर्षित हुन सकिरहेका छैनन् । नेतृत्व परिवर्तनविना कांग्रेसमा जनताको आकर्षण बढ्दैन ।’

नेता सिंहले विधिअनुसार नचलेका कारण पार्टी कमजोर भएको बताए । सिंहले काठमाडौं महानगरपालिकामा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि र नेताहरुलाई घरघरमा गएर कोरोना भाइरसबारे जनचेतना जगाउन निर्देशन दिएका छन् । साथै कोरोना भाइरसको त्राससँगै कृत्रिम अभाव सुरु भएको भन्दै उनले जनजीवन सहज बनाउनतेर्फ भूमिका खेल्न निर्देशन दिए ।

‘विश्वव्यापी महामारीको रुपमा देखापरेको कोरोना भाइरसले पार्न सक्ने असरलाई ख्याल गरी स्थानीय जनताको घर–घरमा पुगेर आमनागरिकको सहयोगमा जुट्नु पर्छ,’ नेता सिंहले भने ।

नेता सिंहले बजारमा कृत्रिम अभाव हुँदासमेत वर्तमान सरकारले हस्तक्षेपकारी भूमिका देखाउन नसक्नु दुःखद भएको बताए । अहिलेको संकटमा सरकारलाई सहयोग गर्न कांग्रेस तयार रहेको बताउँदै नेता सिंहले कालोबजारी र महँगी नियन्त्रण गर्न तथा कोरोनाको सम्भावित संकट पार लगाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भूमिका प्रभावकारी नहुँदा पार्टी संकटमा परेको कुरा सत्य भएको भन्दै नेता सिंहले भने, ‘हामीले गरेर देखाउने बेला यही हो । व्यक्तिगत आकांक्षा त्यागेर दिनरात जनताको सेवामा लागौं ।’ सरकारलाई निरन्तर खबरदारी गर्दै सबैजना जनताको सेवामा जुट्नुपर्ने उनले बताए ।