विज्ञ भन्छन्: नयाँ वर्षदेखि वायु प्रदूषण झन् चर्को र भयावह - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

विज्ञ भन्छन्: नयाँ वर्षदेखि वायु प्रदूषण झन् चर्को र भयावह



काठमाडौं- डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ। डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ।

युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्य एसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ। यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न एकल प्रयासभन्दा पनि सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता रहेको विज्ञहरूले औँल्याएका छन्।

त्यस्तै उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाको जङ्गल क्षेत्र डढेलोबाट अछुतो छैन । एसियाको भारत, थाइल्यान्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकमा डढेलोको चाप बढ्दो रहेको छ । डढेलो विज्ञ सुन्दर शर्मा भन्छन्, ‘त्यसैले अहिले नेपाल र एसियाको मात्र हैन विश्वकै समस्याका रूपमा डढेलो ज्वलन्त विषय बनेर अगाडि आइरहेको छ।’

उनले भने जस्तै​ विश्वको डढेलोको अवलोकन गरिरहेको नासाको भूउपग्रहले समग्र पृथ्वीकै अधिक भूभाग नै डढेलोको मारमा परेको तस्बिर सार्वजनिक गरिरहेको छ।

जसअनुसार कुन देशका मात्र हैन कुन महादेशमा कति भूभाग डढेलोमा छ भन्ने अनुसन्धानमा विज्ञहरू जुटेका छन् । ती तस्बिर हेर्दा एसिया र अफ्रिका अन्य महादेशभन्दा बढी डढेलोको चपेटामा परेको देखिएको विज्ञ शर्माले बताए । दक्षिण एसिया पछिल्लो समय डढेलोको हब बनेको छ। विगत २४ घण्टामा दुई सय स्थानमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ।

व्यापक रूपमा लागेको डढेलो निभाउन अब नेपालले छिमेकी मुलुकसँग फायर फाइटिङ हेलिकप्टर सहायता माग्नुपर्ने विज्ञ सुन्दर शर्मा बताउँछन्। नेपालको धनका रूपमा रहेको ४५ प्रतिशत भूभागको वन जोगाउनका लागि समयमै यस्ता सहयोगको पहल नगरेको अवस्थामा आउँदा दिनमा डढेलोले प्रकोपको रूप लिन सक्ने उनी बताउँछन्। डढेलो बढी हुने सिजन अझै सुरु भएको छैन। वैशाखदेखि यो झन् चर्को र भयावह हुनसक्छ।