प्रदेश ५ को राजधानी 'दाङ' सार्न चलखेल शुरु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रदेश ५ को राजधानी ‘दाङ’ सार्न चलखेल शुरु



बुटवल । प्रदेश ५ को राजधानी सार्न चलखेल शुरु भएको छ । यसअघि कांग्रेस नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेको बुटवलबाट अन्यत्र राजधानी सार्न असुविधा र भौतिक पूर्वाधारको अभाव देखाउन थालिएको छ ।

२ तिहाई नपुग्ने भएपनि असुविधा र भौतिक पूर्वाधार अभावको कारण देखाएर सांसद्हरुलाई सहमत गराउने प्रयास थालिएको कांग्रेसका एक सांसद्ले बताए ।

‘हामीहरुलाई अनौपचारिक रुपमा राजधानी दाङ सार्नुपर्छ भन्ने खालको कुरा आउन थालेको छ–उनले भने–बुटवल उद्योग वाणिज्य संघले असहयोग ग¥यो, यहाँका संघसंस्थाले असहयोग गरे, पूर्वाधार अभाव भयो भन्ने बहाना देखाएर दाङ सार्न लविङ हुन थालेको हो ।’

यो लविङका नेतृत्वकर्ता हुन्, मुख्यमन्त्री शंकर पोखरेल । उनलाई साथ दिइरहेका छन्, सभामुख पूर्ण बहादुर घर्ती र आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले ।

मुख्यमन्त्री पोखरेलले भेटघाटका लागि जाने अतिथिहरुसँग अभाव र समस्या देखाउने गरेका छन् । उनले बुटवलको गर्मी र लामखुट्टेले हैरान पारेको बताउँदै ‘बुटवल ठीक छैन’ भन्न थालेका छन् । सभामुख घर्तीले त औपचारिक कार्यक्रममै बुटवल उद्योग वाणिज्य संघले असहयोग गरेको भन्दै बुटवलबासीको आलोचना नै गरे ।

पूर्वाधार अभावको बहाना बनाएर अहिलेसम्म सरकारले मन्त्रिमण्डल विस्तार गरेको छैन । जबकी मन्त्रालयका लागि कुनै पनि समस्या नहुने प्रतिवेदन र त्यसका सबै खाकाहरु देउवा सरकारकै पालामा बनेको अध्ययन समितिले बुझाएको थियो ।

सरकारले आन्तरिक राजस्व कार्यालय, इलाका वन कार्यालय, सडक डिभिजन कार्यालयको कम्पाउन्डभित्र रहेका इलाका प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालयलगायतका कार्यालयहरु प्रयोग गर्न सकिने अवस्था छ ।

यस्तै निर्माणाधीन सरकारी वकिलको कार्यालय पनि मन्त्रालय र अरु कार्यालयहरु राख्नका लागि उपयुक्त छ । यस्तै हाटबजारलाईनको बाल विद्या मन्दिर पनि प्रयोगविहीन छ । यसमा पनि मन्त्रालय वा विभागहरु राख्न सकिन्छ ।

मणिग्राममा रहेको राममणि क्याम्पसले ४ वटा मन्त्रालयका लागि पर्याप्त हुने २ वटा भवनहरु ५ वर्षका लागि निशुल्क दिने बताइसकेको छ । त्यसबारे सरकारले छलफल नै गरेको छैन ।