किसानको ऋणको ब्याज तिरिदिने प्रदेश दुई सरकारको घोषणा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

किसानको ऋणको ब्याज तिरिदिने प्रदेश दुई सरकारको घोषणा



जनकपुरधाम– कोरोना सङ्क्रमणका कारण व्यवसाय चौपट भएपछि प्रदेश दुई सरकारले राहतका प्याकेज ल्याएको छ ।

प्रदेश दुई सरकारले किसानहरुले बैंक वित्तिय संस्था वा सहकारीबाट लिएको ऋणको चार महिनाको ब्याज तिरिदिने घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले कृषि कर्मको लागि किसानहरुले पाँच लाख सम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको हो ।

बैठकले पाँच लाख देखि १५ लाख सम्मको ऋणमा १२ प्रतिशत सम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाख देखि ३० लाख सम्मको ऋणमा ४० प्रतिशत र ३० लाख भन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिस बमोजिम सरकारले व्याज तिरिदिने निर्णय गरेको छ ।

यसका साथै दूध, फलफूल, तरकारी, कुखुरा तथा माछामा यसका अतिरिक्त समेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ ।

त्यस्तै आजको बैठकले कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले कोरोना महामारी नियन्त्रणमा संलग्न हुने निजामति वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोनाको सक्रमण भई मृत्यु भए पीडित परिवारलाई राहत स्वरुप ५० लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो ।