भारतीय मिडियामा परराष्ट्रमन्त्रीको अन्तरवार्ताः भारतले सेना हटाओस, तत्काल वार्ता गरोस - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

भारतीय मिडियामा परराष्ट्रमन्त्रीको अन्तरवार्ताः भारतले सेना हटाओस, तत्काल वार्ता गरोस



काठमाडौं- पछिल्लो समय सीमा विवादका कारण नेपाल भारतको सम्बन्ध थप चिसिएको छ । भारतले नेपालको भुमी अतिक्रमण गरेर सडक निर्माण गरेपछि चुलिएको विवादले भारतीय मिडियाले नेपाल चीनको पक्षमा लागेको आरोप समेत लगाएका छन् ।

यस्तैमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय मिडियामा अन्तर्वार्ता दिएका छन् । भारतीय संचारमाध्यम द हिन्दूलाई दिएको अन्तरवार्तामा नेपाली भूमि कालापानीबाट भारतीय सेना हट्नु पर्ने अडान ज्ञवालीले राखका छन् ।

अन्तर्वार्तामा उनले सीमा विवादलाई वार्ताबाट समाधान गर्नुपर्ने पनि बताएका छन् । हिन्दूको अनलाइन संस्करणमा बुधबार प्रकाशित अन्तरवार्तामा ज्ञवालीले भारतीय पक्ष वार्तामा बस्न आनाकानी गरिरहेको भन्दै तत्काल तत्काल बस्न पनि भारतीय अधिकारीलाई आग्रह गरेका छन् ।

दुई देशका प्रधानमन्त्रीस्तरबाट सहमति भएर बनेको विदेश सचिवस्तरीय संयन्त्रको बैठकका लागि मिति तोक्न नेपालले गरेको प्रस्तावलाई पनि भारतले बेवास्ता गरेको उनले बताएका छन् । एतिहासिक दस्तावेजले उक्त भूमि नेपालकै प्रमाणित हुने भन्दै ज्ञवालीले नेपाललाई हस्तान्तरण गरेर फिर्ता जान भारतलाई आग्रह गरेका छन् ।

उनले भारतले नोभेम्बर २०१९ मा नयाँ राजनीतिक नक्सा जारी गरेपछि यो विषय बल्झेको पनि बताएका छन् । भारतले नेपालका राजदूतलाई उच्च–तको भेट दिन अस्वीकार गरिएको विषयमा सोधिएको प्रश्नमा ज्ञवालीले त्यस्तो अवस्था सिर्जना नभएको बताएका छन् । उनले भनेका छन्, “हाम्रो राजदूतको भारतीय अधिकारीसँगको भेटघाटको सन्दर्भमा केही मिडियामा आएको जस्तो परिस्थिति भएको होइन ।”

“सुस्ता र कालापानीको भूभाग साटासाट गरेर समाधान खोजिए नेपाललाई स्वीकार्य हुन्छ ?” भन्ने भारतीय पत्रकारको जवाफमा ज्ञवालीले वार्तापछि हुने सहमतिले मात्र यसलाई निर्धारण गर्ने बताएका छन् । तर, कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपाली भूमि नै भएको उनले बताएका छन् ।

संविधान जमिनको आधारभूत कानून भएकाले संसोधन गर्न लागिएको पनि उनले बताएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई संसोधन प्रस्तावका विषयमा छलफलका लागि थप समय चाहिएकाले बुधबार संसदको कार्यसूचीबाट हटाइएको पनि उनले बताएका छन् ।

भारतीय मिडियाले अकतार्फी नेपाललाई खेदिरहेका बेला सीमा विवादबारे नेपाली उच्च पदस्थ व्यक्तिको भारतीय मिडियामा आएको यो पहिलो अन्तर्वार्ता हो ।