प्रचण्डले गल्ती स्विकार्दै भने: मेरै कारणले पार्टी फुटेको हो
काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन काठमाडौंमा चलिरहेको छ । महाधिवेशनमा पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समय लगाएर लेखेको प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदनमाथि २५ वटा समूह बनाएर छलफल सुरू भएको छ ।
महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा प्रचण्डले आफ्नै कारणले पार्टी विभाजन भएको स्वीकारेका छन् । उनले पार्टीको निर्णय व्यक्तिवादी हुँदा विभाजनको स्थितिमा आइपुगेको स्वीकार गरेका छन् ।
महाधिवेशनमा उनको आत्मालोचना गर्दै पार्टी कमिटीमा आफ्नो व्यक्तिगत निर्णय हुँदा संविधानलाई प्रगतिशील बनाउन नसकिएको, पार्टीमा जनवादी केन्द्रियता भत्किएको र शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन नसकिएको स्वीकार गरेका छन् ।
उनको आत्मालोचना चुनवाङ बैठकबाट लिएको कार्यनीतिदेखि पार्टीमा विचार र नेतृत्वको विषयमा बहस नभएकोमा केन्द्रित छ । प्रचण्डले जनमुक्ति सेनाको समायोजन र हतियार बुझाउने प्रक्रिया व्यक्तिगत विजनेस डिलझैँ भएको बताएका छन् । सेना समायोजनबारे आफूलेमात्रै निर्णय लिँदा पार्टीभित्र अविश्वास र आशंका बढेको उनको भनाइ छ ।’केन्द्रीय समितिको चुनवाङ्ग बैठकबाट सामान्य सैद्धान्तिक र राजनैतिक दिशाबोध गरिएको भएता पनि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तथा जनमुक्ति सेना र हतियारलाई क्यान्टोन्मेन्टमा राख्ने जस्तो अत्यन्त गम्भीर र संवेदनशील निर्णय न्यूनतम् रुपमा केन्द्रीय समितिको बैठकमा खुलस्त बहस छलफल गरेर तथा शान्ति सम्झौता पछि पार्टीको नीति, योजना र कार्यक्रमबारे समेत साझा धारणा बनाएर मात्र गर्नुपर्थ्यो,’ प्रचण्डले भनेका छन् ।
विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनमुक्ति सेना र हतियारलाई संयुक्त राष्ट्रसंघको अलोकनमा राखेपछि समेत विद्रोह र संविधान निर्माण सँगसँगै लाने नीतिले पार्टीमा राजनैतिक अन्यौल सिर्जना भएको प्रचण्डको स्वीकारोक्ती छ । विद्रोह र संविधानका दुवै कुरा गर्दा पार्टीलाई एकढिक्का बनाउने र अधिकतम प्रगतिशील संविधान बनाउने काम नै प्रभावकारी हुन पुगेको प्रचण्डको आत्मालोचना छ । ‘मुखले संविधान निर्माणका कुरा गर्ने र मनले विद्रोह कुरा गर्ने भन्ने अत्यन्त अवस्तुवादी र अपारदर्शी कुराले शान्ति सम्झौता गरेर सेना र हतियारलाई क्यान्टोनमेन्टमा राखिसकेपछि विद्रोह त हुने कुरै थिएन,’प्रचण्डले भनेका छन्,’ बरु संविधान सभाबाट अधिकतम प्रगतिशील संविधान निर्माणको काममा पनि ठूलो क्षति पुग्न गयो ।’
आफ्नो द्वेद्द नीतिकै कारण राजनैतिक अस्पष्टता बढ्दा पार्टी विभाजनको अवस्थामा पुगेको उनले स्वीकार गरेका छन् । ‘वैचारिक र राजनैतिक अस्पष्टताको जगमानै पार्टीमा गुटबन्दी र अराजकता झांगिएर जान थाल्यो । शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनसेना र हतियारको व्यवस्थापन गरिसकेपछि स्पष्ट रुपमा अधिकतम प्रगतिशील संविधान निर्माणका निमित्त संघर्ष नै हाम्रो अबको बाटो हो भन्नु पर्दथ्यो,’ प्रचण्डले गल्ती स्वीकार गर्दै भनेका छन्,’विद्रोह नभन्ने हो भने कार्यकर्ताहरु नै भड्किन्छन् कि भन्ने नेतृत्वको मनोगत भयले यसमा काम गरेको छ । परिणामले के सावित गरेको छ भने बरु स्पष्ट रुपमा अबको बाटो संविधान निर्माण र शान्तिपूर्ण रुपले जनवादी क्रान्तिका बाँकी काम पूरा गर्नु हो भन्न सकेको भए संभवतः माओवादी पार्टीलाई विभाजनबाट जोगाउन सकिन्थ्यो।’
आफ्नो व्यक्तिवादी प्रवृत्तिका कारण पार्टीभित्र जनवादी केन्द्रियता भत्किएको प्रचण्डको स्वीकारोक्ती छ । ‘पार्टीको जनवादी केन्द्रियतालाई आफूले अतिक्रमण गरेको भन्दै प्रचण्डले त्रुटी औँल्याएका छन् ।’पार्टीको जनवादी केन्द्रीयतालाई अतिक्रमण गर्ने अति आत्मविश्वास झल्कने कमजोरी देखिएको छ,’प्रचण्डले आत्मालोचना गर्दै भनेका छन्,’यो निर्णय प्रक्रियाले एकीकृत र केन्द्रीकृत रहेको नेतृत्वका जिम्मेवार कमरेडहरुको मनमा चिसो पस्यो भने आम कार्यकर्ता पंक्तिमा मार्गचित्र प्रस्ट नहुँदा अन्यौल बन्यो । यो विन्दुबाट तात्कालीन पार्टीमा रहेको सुदृढ वैचारिक राजनैतिक र सांगठनिक एकताको गाँठो खुकुलो बन्दै गयो ।’
शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस र छलफल गरी निष्कर्ष निकाल्ने प्रक्रिया निषेधझैँ गर्नु गल्ती भएको प्रचण्डले स्वीकार गरेका छन् ।’शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस, छलफल गरी निश्कर्ष निकाल्ने काम गर्न सकिएन। यी दुवै कुरा नगरी अत्यन्त हल्का ढंगले पन्छाइनु गलत भएको छ,’उनले भनेका छन् ।
एमालेसँगको एकताको सहमति कार्यान्यवन गर्दा आफूबाट बेलाबखत भएका उदारवादी कमजोरीका कारण नेकपामा ओली प्रवृत्ति हाबी भएको प्रचण्डले बताएका छन् । आफू अब उदारवादी कमजोरी सच्याउन विशेषरुपले सजग र सतर्क रहने उनको भनाइ छ । ‘पार्टी एकताका सन्दर्भमा मुख्यतः तात्कालिन ने.क.पा. (एमाले) सँग एकता सम्पन्न भएपछि सहमति कार्यान्वयन गर्दा नेतृत्वका तर्फबाट बेलाबखत हुन गएका उदारवादी कमजोरीका कारण ओली प्रवृत्तिलाई आफ्नो षड्यन्त्रको जाल बुन्न अनावश्यक अवसर दियो,’ प्रचण्डले भनेका छन्,’ यो कुरा राजनैतिक प्रतिवेदन र विधान लागू गर्नेदेखि एकताका बेलामा संगठन र सरकार सञ्चालनबारे भएका सहमति कार्यान्वयनमा समेत देखापरे आगामी दिनमा सिंगो पार्टी यस प्रकारका उदारवादी कमजोरी सच्च्याउन विशेष सजग र सर्तक रहन जरुरी छ ।’
आफूले गरेका कमजोरीका स्वीकारोक्ति पार्टीले नेतृत्व लिएका आन्दोनहरुको अवमुल्यनका रुपमा नबुझ्न प्रचण्डले कार्यकर्तालाई अपील गरेका छन् ।
‘उपरोक्त कमजोरीहरुको स्वीकारोक्तिको अर्थ महान् जनयुद्ध, ऐतिहासिक शान्ति सम्झौता, पटक-पटकका जनआन्दोलन, संविधान सभाबाट समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र त्यसको कार्यान्वयन, राष्ट्रिय एकता र स्वाधिनताको सुदृढीकरण, प्रतिगमन विरोधी आन्दोलन, समाजवादी क्रान्तिका लागि नयाँ क्रान्तिकारी विचारको विकास सहित नयाँ क्रान्तिकारी पहल समेतमा हाम्रो पार्टी र नेतृत्वले खेलेको ऐतिहासिक भूमिकालाई अवमूल्यन गर्नु होइन,’ प्रचण्डले भनेका छन् ,’ अपितु त्यसलाई बलियो बनाउने ऐतिहासिक शिक्षाका रुपमा लिनु पर्दछ ।