पछुतो मान्दै प्रचण्डले माफी मागेपछि... - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

पछुतो मान्दै प्रचण्डले माफी मागेपछि…



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछुतो ब्यक्त गरेका छन् । उनले राम बहादुर थापा बादललाई गृहमन्त्री बनाएकोमा आत्मालोचना गर्दै पछुतो ब्यक्त गरेका हुन् ।

आफ्ना निर्णयबाट पटकपटक पछुताउने गरेका प्रचण्डले यसपटक पनि पछुतो मान्दै उक्त निर्णयमा आफूले ठुलो भुल गरेको बताएका छन् । उनले २०७० सालको संविधानसभा चुनावमा आफूमाथि बम हानेको बादललाई गृहमन्त्री बनाएर गल्ती गरेको बताए ।

लामो समयपछि रुकुम पुगेका प्रचण्डले आफूलाई कठिन अवस्थामा साथ दिने नेताहरूलाई छिन्न नसकेको समेत बताए । उनले माओवादीमा अवसर लिने र ढोका दिनेहरूले आफूलाई चक्रब्यूहमा पारेको र आफूले नेता छिन्न नसकेको बताए ।

उनले जर्नादन शर्मा प्रभाकरलाई गृहमन्त्री नबनाएर ठुलो गल्ती गरेको समेत बताएका थिए । आफूलाई कठिन अवस्थामा साथ दिनेप्रति भन्दा पार्टी फुटाउने र आफैलाई आक्रमण गर्नेहरुलाई मन्त्री बनाएर गल्ती गरेको उनको भनाई थियो ।

नेता प्रभाकरकै निर्वाचन क्षेत्रमा पुगेर उनले त्यहाँका कार्यकर्तासँग माफी माग्दै प्रभाकरलाई गृहमन्त्री नबनाएर गल्ती गरेको स्वीकार गरेका थिए । कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार बन्दा गृहमन्त्रीमा बादलसँगै जर्नादन शर्मा प्रभाकरको पनि चर्चा थियो ।

माओवादी कोटाबाट बादललाई गृहमन्त्री बनाइएको थियो । पार्टीमा निकै प्रभाव राख्ने नेता प्रभाकरलाई भने मन्त्री समेत बनाइएन । प्रभाकर यसै कारण प्रचण्डसँग केहि समय असन्तुष्ट बनेका थिए । तर, कठिन समयमा प्रभाकरले प्रचण्डको साथ छाडेनन् ।

प्रधानमन्त्री केपी ओलीसंग प्रचण्डको खटपट भएपछि माओवादी पार्टी नै छाडेर एमाले बनेका बादल पनि अहिले प्रचण्डमाथि खनिन थालेका छन् । सार्वजनिक कार्यक्रममा एमालेकै नेताहरूले भन्दा कडा आलोचना बादलले गर्न थालेका छन् ।

उता प्रचण्डले पनि बादल लगायतका नेताहरूलाई गद्दारको संज्ञा दिन थालेका छन् ।