पार्टी एकता टुंग्याउन प्रचण्ड, नेपाल र गौतमले लिए ‘एक्सन’
काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ । छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् ।
प्रचण्ड निवास खुमलटारमा तीन नेताका बीचमा पछिलो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ । नेपाल र गौतमले प्रचण्डलाई भेटन खुमलटार पुगेका हुन् । उनीहरूबीच पछिलो राजनीतिक अवस्थाबारे छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ ।
नेकपाको पछिल्लो सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय कार्यान्वयन गर्ने, पार्टी एकताको बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको बताइएको छ ।
गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने पार्टी निर्णयविरुद्ध नै नेताहरू लागेपछि यो विषयमा अब के गर्ने भन्ने छलफलसमेत भएको छ ।
मिर्गाैला प्रत्यारोपण गराएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीसँग समेत छलफल गरेर अगाडि बढ्ने बताइएको छ । गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने र नबनाउने खेलले पार्टीलाई नै क्षति पुग्ने बताउँदै नेताहरूले एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन् ।
नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरू सहभागी १५ फागुनको खुमलटार बैठकले राष्ट्रिय सभा सदस्यमा गौतमलाई लैजाने आन्तरिक सहमति गरेका थिए ।
त्यसअघि नै बसेको गौतम निवास भैंसेपाटी बैठकले यो समूह नेकपा सचिवालय बैठकमा एकमतले यस विषयमा अगाडि बढ्ने सहमति गरेको थियो ।
प्रचण्ड निवास खुमलटारको त्यस बैठकलगतै बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय ग¥यो । तर, सो निर्णयलगतै प्रधानमन्त्री ओलीले आफूविरुद्ध षड्यन्त्र सुरु भएको विश्लेषण गर्दै सचिवालयको निर्णय कार्यान्वयन नगर्ने निष्कर्षमा पुगे ।
खुमलटार बैठकमा सहमति गरेर सचिवालय बैठकबाट प्रधानमन्त्री ओलीलाई अल्पमतमा पारेर सो निर्णय गरिएको भन्दै गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने योजना पर धकेलिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित अर्थमन्त्री खतिवडाको पदावधि २१ फागुनदेखि सकिएपछि सोही ठाउँमा गौतमलाई मनोनित गर्न नेकपाले निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्री खतिवडालाई ६ महिनाका लागि २१ फागुनमा पुनः नियुक्त गरेपछि गौतमको राष्ट्रिय सभा प्रवेश अनिश्चित भएको छ ।
तीनपटक उपप्रधानसहित गृहमन्त्री बनेका गौतमलाई ओलीले यसअघि राष्ट्रिय सभा सदस्य बन्न ओलीले प्रस्ताव गर्दा उनी मानेका थिएनन् । तर, अहिले प्रचण्ड र नेपाल समूहको खुमलटार बैठकपश्चात् सदस्य बन्न तयार भएपछि ओली सशंकित भएका हुन् ।