प्रचण्डले कसलाई भने नेकपाभित्रकै प्रतिक्रियावादी
काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको जनाएका छन्।
उनले पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत पार्टी एकतालाई थप सुदृढ बनाउन आग्रह गरेका छन्।
नेकपा स्थापना दिवसका अवसरमा वक्तव्य जारी गर्दै दाहालले भनेका छन्, ‘सकारात्मक र रचनात्मक योगदानसहित एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्दै आआफ्नो ठाउँमा सकारात्मक पहल गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गर्दछु।’
उनले ७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिस्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र नगरी विश्व कम्युनिस्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश दिएको बताएका छन्।
वक्तव्यमा भनिएको छ, ‘कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादोन्मुख संविधान, सामाजिक न्यायलगायत महत्वपूर्ण उपलब्धि हासिल भएका छन्।’
उनले विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरस मानव जातिकै लागि नयाँ चुनौतीका रूपमा उभिएको भन्दै अध्यक्ष दाहालले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै त्यसविरुद्ध एकताबद्व सङ्घर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायमा अपिल गरेका छन्।