सात वर्ष अगाडी प्रचण्डलाई थप्पड हान्ने कुँवरलाई अहिले अभद्र व्यवहारको मुद्दा
काठमाडौं । संसद भवनको सौचालयबाट पक्राउ परेका पदम कुँवरलाई प्रहरीले अभद्र व्यवहारको कसूर लगाएको छ ।
शनिबार साँझ बानेश्वरस्थित संसद भवनको सौचालयबाट शंकास्पद अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको थियो । त्यसपछि उनलाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान भैरहेको जनैएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मुलुकी अपराध संहिताको अभद्र व्यवहार सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले बताएको छ ।
पदम कुँवरले सात वर्ष अघि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप्पड हानेर चर्चामा आएका थिए ।
सौचालयबाट नियन्त्रणमा लिइएका कुँवर त्यहाँ किन पसेका थिए भन्ने बिषयमा भने प्रहरी अनविज्ञ छ ।
प्रहरी स्रोतका अनुसार कुँवर संलग्न पुरानो घटनाले उनीमाथि अनुसन्धान गर्नुपर्ने देखिएको छ । उतिबेलाको त्यो घटना र संसद भवनमा छिर्नुले उनीप्रति प्रश्न उब्जेकोले अनुसन्धान गर्नुपरेको बताइन्छ ।
२०६९ साल मंसिर १ गते भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला उनले प्रचण्डलाई थप्पड हानेका थिए । बाग्लुङका कुँवर त्यसवेला वैद्य माओवादीसँग आबद्ध थिए ।
यसपटकको उनी के नियतले संसद भवन छिरेका थिए भन्ने खुलिसकेको छैन । प्रारम्भिक बयानमा उनले ‘ठूला मान्छेहरु भेट्न पाइन्छ कि भनेर छिरेको’ भनेका छन् ।