केटाकेटीपन छाडेर गम्भीर बन्न प्रचण्डलाई कांग्रेसको सुझाव - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

केटाकेटीपन छाडेर गम्भीर बन्न प्रचण्डलाई कांग्रेसको सुझाव



काठमाडौं- नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई केटाकेटीपन छाडेर गम्भीर बन्न सुझाव दिएको छ ।

प्रचण्डले जनयुद्ध दिवसमा दिएको विवादास्पद अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति समेत प्रकट गरेको छ ।

बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै नेपाली कांग्रेसले नेकपा अध्यक्ष दाहालले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको भूमिकालाई अर्थहीन ढंगले प्रस्तुत गरेको भन्दै आपत्ति जनाएको हो।

२५ औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले ‘गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुपर्‍यो, ठूल्ठूला फौजी आक्रमण गर्नुपर्‍यो, सदरमुकाम नै हान्नुपर्‍यो भनेर मलाई भन्नुहुन्थ्यो, यही विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न सफल भएका हौँ’, भनेका थिए।

कांग्रेसले दाहालको उक्त अभिव्यक्ति अराजनीतिक भएको भन्दै जिम्मेवार अभिव्यक्तिका लागि सजग हुन आग्रह गरेको छ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको वक्तव्य जस्ताको त्यस्तै:

(१) माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।

(२) `फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो´भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि साँचै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जिवित छँदै नै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो ।

तर उहाँको निधन भएको यतिका वर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दु:खद छ ।

(३) ऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो ।

हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नु आफैमा विरोधाभाषपूर्ण छ ।

(४) जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दाहाललाई दिनुभएको सुझाव सार्वजनिक रुपले स्मरण गराउँदै जिम्मेवार अभिव्यक्तिका लागि पनि´ सजग गराउँदछु ।