प्रचण्डले भने: कोही आत्तिनु पर्दैन, पार्टी अझ खारिएर आउँछ
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अन्तरसंघर्ष, विवाद पदका निम्ति लुछाचुँडी नभएको स्पस्ट पारेका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको लडाइँ, अन्तरविरोध, अन्तरसंघर्ष विचारकै भएको बताएका हुन् ।
हेर्दा पदकै निम्तिजस्तो देखिए पनि उनले समाजवादमा जाने कि पुँजीजवादमा अडिने लडाइँनै भएको बताएका हुन् ।
“पुँजीवादमै रहने कि समाजवादी संस्कृति, संरचना अगाँल्ने भन्नेमै अहिलेको बहस चलिरहेको छ । पदका लागि झगडाजस्तो देखिए पनि यसलाई सच्याउनुपर्छ,” उनले भने ।
प्रचण्डले पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद हुनुपर्छ भनेर अहिले चलाइएको बहस निरर्थक भएको टिप्पणी गरेका छन् ।
उनले महाधिवेशनका लागि बहस खुला नगरिसकिएको अवस्थामा स्थगित गरिएको विचारलाई कार्यदिशाका रूपमा अँगाल्नुपर्छ भनेर चलाइएको छलफलले पछाडि फर्काउने बताए । उनले यस्ता गतिविधिले पार्टीलाई फुट र विभाजनबाट रोक्न नसक्ने पनि बताए ।
“हामीले जनताको बहुदलीय जनवाद, माओवाद, २१ औं शताव्दीको जनावाद आदिलाई छाडेर जनताको जनवाद अँगालेका हौं । कसैले जनताको बहुदलीय जनवाद र मैले २१ औं शताव्दीको जनवाद हुनुपर्छ भन्ने हो भने एकतालाई प्रबद्र्धन गरेको ठहरिँदैन,” उनले भने ।
उनले अहिलेको समस्या समाधान पार्टी कमिटीको बैठकले दिने बताउँदै त्यो भन्दा बाहिर गएर कार्यकर्तालाई नारा–जुलुस प्रदर्शन सहभागी गराउन नहुने विचार व्यक्त गरे ।
प्रचण्डले पार्टी एकतालाई बचाउन अन्तिमसम्म प्रयत्न गर्ने पनि बताए । “पार्टी विभाजन हुने अजस्थाबाट रोक्न अन्तिमसम्म प्रयत्न गर्नेछौं । पार्टी विभाजन हुन दिइने छैन,” उनले भने, “अहिलेको बहसबाट कोही आत्तिनु पर्दैन । पार्टी अझ खारिएर आउँछ । स्पष्ट विधिपद्धति पालना गर्ने पार्टी बनेर आउँछ ।”