विष्णु पौडेलका ज्वाइँलाई सरकारी उपहार - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विष्णु पौडेलका ज्वाइँलाई सरकारी उपहार



काठमाडौं- अर्थमन्त्री पौडेलका ज्वाइँले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षको नियुक्ति पाएका छन् । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले पौडेलका ज्वाइँ डाक्टर गौरवराज ढकाललाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्ष नियुक्त गरेको हो ।

परिषदको अध्यक्षमा भने डा. गेहनाथ बराललाई नियुक्त गरिएको छ । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको सिफारिसको आधारमा ढकाल बराल लगायतका सदस्यहरू नियुक्त भएका हुन् । यसैगरी मन्त्रिपरिषद्ले डा वन्दना खनाल, डा अवधेश तिवारी, डा सन्तोष शाक्य र डा. रामआधार यादवलाई सदस्य नियुक्त गरेको छ।

ढकालको नियुक्तलाई लिएर नेकपा एमालेका कार्यकर्ताले पार्टी महासचिव समेत रहेका अर्थमन्त्री पौडेलको कार्यप्रति प्रश्न उठाउन थालेका छन् । बालुवाटार जग्गा प्रकरणमा सेटिङ् मिलाएर उपहार स्वरुप ८ आना जग्गा पाउने, नेकपा एकीकरणको समयमा प्रचण्डसँग घाँटी जोडेर निर्वाचित ईश्वर पोखरेललाई लत्याउँदै महासचिव पड्काउने, जग्गाकाण्डमा मुद्दा नचलाउने, कार्यकर्तालाई लाजपुर्जा बाँड्ने, जनतासँग छलफल नगरी बस्ती रहेको ठाउँमा औद्योगिक करिडोर शिलान्यास गर्ने, व्यक्तिगत पूर्वाग्रहको आधारमा गृहजिल्लाको सीडीओ र प्रहरी प्रमुख सरुवा गर्ने लगायतका कमजोरी पौडेलले गरेको कार्यकर्ताको आरोप छ ।

अर्थमन्त्री विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा बनाउनका लागि सेटिङ मिलाएका थिए । त्यसबापत उनले ८ रोपनी जग्गा छोराका नाममा पास समेत गरेका थिए । तर अख्तियारले पौडेललाई मुद्दा चलाएन ।

सोही काण्डमा पूर्व प्रधानमन्त्री माधव नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । जबकी उनीहरूले बालुवाटारको सरकारी भवन विस्तार गर्ने मात्र निर्णय गरेको र जग्गा काण्डमा संलग्न नभएको भन्दै अख्तियारले मुद्धा नचलाउने निर्णय गरेको थियो । तर अहिले प्रधानमन्त्री एवं केपी ओलीको विरोध गरेकै आधारमा उनीहरूमाथि मुद्दा हालिएको छ ।

तर, जग्गा नै आफ्ना छोराको नाममा हत्याउने अर्थमन्त्री पौडेलका आफन्त र नाता गोतालाई भने सरकारले नियुक्ति दिएर प्रोत्साहन गरिरहेको कार्यकर्ताको आरोप छ ।