प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने: सञ्चारकर्मीलाई प्रवेश निषेध
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।
अपरान्ह ५ बजे कोरोना भाइरस संक्रमण (कोभिड-१९)का सम्बन्धमा सरकारले गरेका तयारीबारे उनले बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्।
कोरोना भाइरसको संक्रमण फैलाउन नदिन आमनागरिकले अपनाउनुपर्ने सावधानी तथा यसको रोकथामको लागि सरकारले गरेका कार्यबारे प्रधानमन्त्रीले सम्बोधनमार्फत् जानकारी गराउने बताइएको छ ।
प्रधानमन्त्रीको सम्बोधन विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण र त्यसको असर हुन नदिन नेपालले अपनाउनुपर्ने सतर्कता तथा सरकारको तयारीबारे केन्द्रित हुनेबताइएको छ ।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। सरकारले यसअघि नै कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्देशन दिइसकेकाले सम्बोधनमा सञ्चारकर्मीलाई प्रवेश नदिइने भएको छ।