कसैले पार्टी फुटाउछु भन्दैमा थरथर काँपिन्न: माधव नेपाल - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

कसैले पार्टी फुटाउछु भन्दैमा थरथर काँपिन्न: माधव नेपाल



काठमाडौं- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई कसैले पनि फुटाउन नसक्ने दाबी गरेका छन् ।

नेकपाभित्र विवाद चर्किएका कारण एक महिनादेखि स्थायी कमिटी बैठक निर्णयविहीन बनिरहेका वेला नेपालले पार्टी फुटाउन खोजे व्यक्ति मात्र चोइटिने अवस्था रहेको बताए ।

पुष्पलाल स्मृति दिवसका असरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा नेपालले भने, ‘पार्टी फुटाएर आन्दोलनलाई समाप्त पार्ने मूर्खतापूर्ण काम कसैबाट नहोस् । कम्युनिस्ट पार्टी फुट्दैन, फुट्नेवाला छैन । कसैले चोइट्याउन खोजे एक्लिन्छ ।’

कसैले पार्टी फुट्छ भन्दा थरथर काम्नुपर्ने अवस्था नहरेको उल्लेख गर्दै उनले कम्युनिस्ट पार्टी अघि बढ्ने र जनताको विश्वास जित्ने काममा लाग्नुपर्ने बताए ।

उनले विधि र पद्धतिले विचारको पनि टुंगो लगाउन र संगठनलाई सुचारु गर्न सकिने उल्लेख गरे ।

‘म नै राज्य भन्ने, सर्वाेपरी ठान्ने, आफूलाई केन्द्रबिन्दुमा राख्ने, अहंकारको भावनाबाट चल्न थाल्यो भने व्यक्तिको पतनबाहेक केही हुँदैन,’ उनले भने ।

उनले अहंकारबाट जोगिन र आन्दोलनको हितमा नयाँ शिराबाट अघि बढ्न संकल्प गर्नुपर्ने बताए ।

उनले हाल पार्टीभित्र देखिएका समस्या बसेर छलफल गरेर हल गर्ने प्रयास भइरहेको जानकारी दिए ।

‘हाम्रा लागि विधि, नीति, पद्धति मुख्य कुरा हो । सामूहिक निर्णय परिपालना गर्ने लेनिनवादी संगठनात्मक सिद्धान्त, पार्टी विधानमा लेखिएको बहुमतको निर्णय सबैले शिरोपर गर्नुपर्छ,’ उनले भने, ‘बहुमतको निर्णय मान्दिनँ भन्ने कसैले छुट पाउँदैन । कसैले पनि आफैँलाई अपरिहार्य नठानौँ ।’

उनले सबैलाई साथमा लिएर अघि बढ्नुपर्ने र कमजोरी सुधार गर्नुपर्ने बताए ।