सबै अस्पतालमा ओपिडी सेवा बन्द - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सबै अस्पतालमा ओपिडी सेवा बन्द



काठमाडौँ- चिकित्सक लगायतका स्वास्थ्यकर्मी संक्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि सरकारले ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था तत्काल गर्न पनि भनेको छ ।

कोरोना संक्रमितको संख्या बढेकाले बिदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्कन पनि मन्त्रालयले निर्देशन दिएको छ । मुलुकभरिका सरकारी अस्पताल संक्रमितले भरिएपछि अपुग जनशक्ति व्यवस्थापन गर्न चिकित्सकलगायतलाई लामो बिदा नदिन र यसअघि लामो बिदामा बसेकालाई तुरुन्त कार्यालयमा हाजिर हुनका लागि पत्राचार गर्न निर्देशन दिएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका दरबन्दी भए पनि कर्मचारीले भनसुन गरेर अन्यत्र काजमा र बिदामा बसेको पाइएको छ । नेपालगन्जमा सीमित जनशक्तिबाट सेवा दिन बाध्य भएको मन्त्रालयबाट अनुगमनमा खटिएका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले बताए । ‘भेरी अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी ६० जनाभन्दा बढी संक्रमित छन् । उनीहरूले नै २ सय ६ जना संक्रमितको उपचार गरिरहेका छन्,’ उनले भने, ‘धेरै जना त आईसीयूमै छन् । १० जना भेन्टिलेटरमा छन् । एक जना बिरामी बराबर १ जना नर्स हुनुपर्ने, त्यो पनि छैन ।’ भेरी अस्पतालमा एक जना मात्रै एनेस्थेसियाका चिकित्सक रहेको उनले बताए । त्यहाँ जुम्ला र अन्यत्रबाट चिकित्सक ल्याउने पहल भइरहेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अप्ठ्यारो परिस्थितिमा बिदामा बसेर नफर्कनू र बिदा बस्न खोज्नू ठीक नहुने बताए । ‘महामारीमा देशलाई हाम्रो खाँचो छ,’ उनले भने, ‘यो बेला हामीले गरेको योगदानको मूल्यांकन सेवाग्राहीले गर्नेछन् ।’

सरकारले गत वर्ष अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ता र बिमाको योजना अघि सारेको थियो । अधिकांशले यो सुविधा लिए । केहीले भने अझै नपाएको गुनासो गरिरहेका छन् ।

आफ्नो गुनासो यथावत् राखेर उनीहरू कोरोना संक्रमितको उपचारमा जुटेका छन् । पछिल्लो समय नेपालगन्जका चिकित्सकहरूलाई अन्यत्रको तुलनामा बढी नै कामको दबाब रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनशक्ति अभाव भए ६ महिनाका लागि करारमा नियुक्ति गर्ने अधिकारसमेत दिएको छ । जनशक्ति व्यवस्थापन गर्न बजेट सुनिश्चित गर्ने गरी अधिकार दिइएको मन्त्रालयले जनाएको छ ।

अस्पतालमा भएका जनशक्तिलाई विभाजन गरेर काम लगाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । आधा जनशक्तिलाई एक दिन र आधालाई अर्को दिन पर्ने गरी पालो निर्धारण गर्न मन्त्रालयले भनेको छ ।