प्रधानमन्त्रीको निर्देशन: अनिष्ठ परिस्थिति आउन सक्छ, तयार रहनुस
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रकै आफ्ना बिरोधीहरूले आफूलाई अपदस्त गर्न लागेको भन्दै आफूनिकट सांसदहरूलाई असहज परिस्थितिको समेत सामना गर्न तयार रहनको लागि मिर्देशन दिएका छन् ।
उनले सोमबार बालुवाटारमा आफू निकट सांसदहरूको भेला गरी जस्तोसुकै परिस्थितिको सामना लागि तयार रहन निर्देशन दिएका हुन्।
आफूनिकटका दुई दर्जन बढी सांसदसँग प्रधानमन्त्री ओलीले आफूलाई सरकार र पार्टीबाट हटाउने षड्यन्त्रसमेत भइरहेको र त्यसको आफूले डटेर सामना गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘साथीहरू मलाई पार्टी र सरकारबाट हटाउन वार कि पारको लडाईमा लाग्नुभएको छ। मलाई बर्खास्त गर्ने तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद विजय सुब्बाले भने, ‘साथीहरू तोडफोड विध्वंस जे पनि गर्ने योजनामा छन्। त्यस्तो अनिष्ठ परिस्थिति आउनसक्ने मानसिकता बनाइराख्नुस्। उहाँहरूले जे पनि गर्न सक्नुहुन्छ।’
प्रधानमन्त्री ओलीले अब बस्ने सचिवालयले धेरै कुराको टुंगो लगाउने र त्यस्तो नभए अरु ३/४ दिन लाग्न सक्नेसमेत बताएका थिए।
‘मैले धेरै काम गरेको छु। त्यसमा कसैको ध्यान गएको छैन। साथीहरू खाली विरोध मात्रै गर्नुहुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद महेश बस्नेतले भने,’मेरो ७५ प्रतिशत समय त साथीहरूका गुनासो सुन्ने र उनीहरूको चित्त बुझाउँदैमा गयो।’
प्रदेशमा प्रशिक्षण कार्यक्रममा समेत सरकारको विरोध भएको भन्दै प्रधानमन्त्री ओलीले यसभन्दा अगाडिका प्रधानमन्त्रीहरुले नसोचेको काम गर्दा समेत प्रशंसा नपाएको गुनासो गरेका थिए।
आफूबाट कुनै गल्ती भएको हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले यसलाई सुधार्नका लागि सुझाव दिनुको साटो अध्यक्ष र प्रधानमन्त्रीबाटै हटाउन खोजिएको समेत बताएका थिए।
‘अध्यक्ष र प्रधानमन्त्रीबाट छोड्नुपर्छ भनेर साथीहरू लाग्नुभएको छ। परिणाम जे पनि आउनसक्छ भनेर उहाँहरू अन्तर्वार्ता दिँदै हिँड्नुभएको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद सुब्बाले भने,’अध्यादेश आयो, पार्टीकै साथीहरुले फिर्ता गर्ने भनेपछि फिर्ता गरें। साम्य हुन्छ कि भनेको तर उहाँहरूको अभियान अर्कै रहेछ। उहाँहरू वार कि पारको लडाइँमा लाग्नुभएको छ।’
प्रधानमन्त्री ओलीले कोरोनाको महामारी भएको समयमा विवादित अध्यादेश ल्याएपछि आफ्नै पार्टीमा उनीविरुद्ध चर्को मोर्चाबन्दी सुरु भएको छ ।