नेकपा अपडेट: प्रचण्डलाई ओलीको नयाँ अफर- 'बैठक नबसौं, एक्लै अध्यक्ष बन्नुहोस' - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

नेकपा अपडेट: प्रचण्डलाई ओलीको नयाँ अफर- ‘बैठक नबसौं, एक्लै अध्यक्ष बन्नुहोस’



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवादले निकै रोचक मोड लिने देखिएको छ । स्पष्ट अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले एकपछि अर्को रोचक अफर गर्न थालेका छन् ।

शनिबार नेकपाको सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष नयाँ प्रस्ताव राखेपछि फेरि माहोल फरक बनेको छ ।

स्रोतका अनुसार शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई नयाँ प्रस्ताव गरेर सहमति खोज्न आग्रा गरेका छन् ।

दुई अध्यक्ष बीच भएको भेटमा अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकल अध्यक्षको प्रस्ताव राख्दै पार्टीमा सहमतीका लागि पहल गर्न आग्रह गरेको द्रोताको दाबी छ ।

‘अब दुई अध्यक्षको व्यवस्था पनि हटाइदिउँ, म अब बाँकी समय प्रधानमन्त्री चलाउँछु, तपाईं पार्टीको नेतृत्व गर्नुहोस्, प्रचण्डलाई ओलीले गरेको अफर सुनाउँदै स्रोतले भन्यो ।

प्रचण्डले भने उनको अफरमा त्यति ध्यान नदिएको र यस्ता बिषयमा स्थायी समितिले नै निर्णय गर्ने भन्दै सकेसम्म छिटो स्थायी समितिको बैठक बोलाउने निर्णय गर्न ओलीलाई आग्रह गरेका थिए ।

स्रोतको दाबी अनुसार प्रचण्डले दुई जनाले कोठामा बसेर यस्तो निर्णय गर्न नहुने बताएका थिए । त्यति भनेर निस्किएका प्रचण्ड एकाएक वरिष्ठ नेता माधव नेपाल भेट्न पुगेको बताइएको छ । नेता नेपालसंग प्रचण्डले ओलीसंग भएको सबै कुरा बेलिबिस्तार लगाएका थिए ।

नेता नेपाललाई प्रचण्डले बताए अनुसार प्रधानमन्त्री ओलीले बैठक राख्ने भन्दापनि सहमतिमै बिषय टुंग्याउन रुची राखेका थिए । तर प्रचण्डले भने बैठकभन्दा बाहिर अब केहिपनि कुरा हुन नसक्ने बताएका थिए ।

शुक्रबार प्रधानमन्त्री ओलीसँग प्रचण्डले स्थायी समितिको बैठक राख्न तीव्र दबाब आएको स्मरण गराउँदै पार्टीमा देखिएका गतिरोधको समाधान त्यहीँबाट खोज्न सुझाव दिएका छन्।