भारतीय सेना प्रमुखलाई प्रधानमन्त्रीको जवाफ- नेपाल कहिल्यै कसैको गुलामी गरेको देश होइन
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेनापति मनोज मुकुन्द नरभानेको अभिव्यक्तिले नेपालीलाई होच्याएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेना प्रमुख नरवानेलाई नेपाल कहिल्यै गुलामीमा नचलेकाले कुनै विषयमा अरूको उक्साहट/दबाबमा नचल्ने जवाफ फर्काएका छन्।
नरभानेले केही दिन पहिले नेपालले अरूको उक्साहटमा लागेर लिपुलेको मुद्दा उचालेको बताएका थिए । उनले लिपुलेक महाकाली नदी पश्चिम पर्ने र भारतले खनेको बाटो पनि नेपाली भूमिमा नपर्ने दाबी गरेका थिए ।
सांसदहरूले त्यस अभिव्यक्तिबारे सरकारको धारणा माग गरेपछि प्रधानमन्त्री ओली नेपाल राष्ट्र कसैको दबाब, प्रभाव र उक्साहटमा नलाग्ने स्पष्ट पारेका हुन् ।
उनले नक्सा छाप्न ढिलाइ भएकाले आज सदनमा वितरण नगरिएको पनि बताए । बेलुका निर्णय भएकाले बिहान छाप्न नभ्याइएको बताउँदै दबाबले नबाडिएको हो भन्ने प्रश्न सुहाउँदो नभएको टिप्पणी पनि गरे ।