पासा पल्टियो: यसरी बन्यो ओलीको पक्षमा बहुमत
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा भएको भनिएकै बेला बालुवाटारमा भने बहुमत सदस्यसहित बैठक बसेको खुलासा भएको छ ।
नेकपाको सचिवालय बैठक बस्ने तयारी भैरहेका बेला यो तथ्य बाहिरिएको हो । बहुमत सदस्यसँग बैठक सकेर प्रधानमन्त्री ओली शितलनिवास पुगेको स्रोतले बताएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालयका पाँच जनाको छुट्टै भेला भएको थियो । स्रोतका अनुसार बालुवाटारमा सचिवालय सदस्यहरु वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल पुगेका थिए ।
सचिवालयका ९ जना सदस्यहरुमध्ये ५ जना बालुवाटारमा भेला हुनुले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पद जोगाउने उनको प्रयत्न सफल भएको बुझिएको छ । उनको पक्षमा ५ जना उभिएको र यो संख्या बहुमत भएको प्रष्ट देखिन्छ ।
केहिदिन देखि नेकपामा देखिएको विवाद ओलीको यो कदमले साम्य पार्ने देखिएको छ । उता अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ ओलीको राजीनामा माग्ने पक्षमा उभिएका छन् ।
गत बुधबारको सचिवालय बैठकमै दाहाल र नेता नेपालले ओलीको राजीनामा मागेका थिए । तर, ओलीले आफूले राजीनामा दिनुपरे वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।