कोरोनाबाट बच्न प्रधानमन्त्री ओलीका पाँच टिप्स - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

कोरोनाबाट बच्न प्रधानमन्त्री ओलीका पाँच टिप्स



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट बच्न पाँचवटा सुझाव दिएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा ओलीले नेपालमा कोरोनाको अवस्था भयावह हुने चेतावनी दिँदै पाँच सुझाव दिएका हुन्।

ओलीले आम नागरिकलाई स्वच्छ र सन्तुलित आहार खान, घरभित्रै रहेर शारीरिक र मानसिक व्यायम गर्न, शरीर तथा वरपरको वातावरण सफा राख्न, पर्याप्त आराम गर्न र मनोबल उच्च राख्न सुझाव दिएका हुन्।

प्रधानमन्त्री ओलीले लकडाउनले जनजीवन कष्टकर भए पनि रोक नियन्त्रणका लागि फलदायी भएको दाबी गरे। लकडाउनकै कारण महामारबाट हुन सक्ने डरलाग्दो क्षतिलाई न्यूनीकरण गर्न सकिएको भन्दै उनले खुशी व्यक्त गरे।

ओलीले भने, ‘चार महिनाको बच्चदेखि वृद्धसम्मलाई निको पार्न सक्नु उपलब्धि हो। कोरोना विरुद्धको लडाँइ लामो र कठिनाइपूर्ण हुनेमा सरकार जानकार छ। परीक्षणको दायर विस्तार गर्न औषधि र किटको व्यवस्था गरिएको छ।’

उनले सरकार कम्तिमा दुई प्रतिशत नागरिकको परीक्षण गर्ने सोचमा रहेको जानकारी दिए। ‘क्वारेन्टिनको संख्या बढाउने, गुणस्तर बढाउने काम गरिएको छ। केन्द्रीय योजना र स्थानीय तहको सक्रियतामा काम गरिएको छ।’

‘महामारीसँग लड्न सबै सरकारी निकाय तयारी अवस्थामा छ। यति बेला कर्मचारीले खेलेको भूमिकालाई नै मूल्यांकन गरिनेछ। पुरस्कार र दण्डको व्यवस्था गरिनेछ,’ सम्बोधनका क्रममा ओलीले भने।

देशवासीको जीवन धरापमा पर्न नदिन सरकार सचेत रहेको उल्लेख गर्दै उनले विदेशबाट नागरिक फिर्ता ल्याउने कार्य चाँडै सुरु हुने उल्लेख गरे। ओलीले भने, ‘विदेशबाट नेपाल फर्किने क्रम सुरु भएको छ। मित्र राष्ट्रसँग कुरा गरेको छु, उहाँहरुले चिन्ता नलिन भन्नुभएको छ। सरकारले समयमै उद्धार गर्नेछ। सरकारले तयारी मिलाउँदै उद्धार कार्य छिट्टै सुरु गर्नेछ।’

ओलीले भारतबाट आएका नागरिकलाई परिक्षण नगरी देशभित्र पस्न दिँदा रोगको संक्रमण फैलिएको स्वीकार गरे। उनले एसइइ परिक्षा तत्काल गर्न नसकिने भएकाले यसको विकल्पबारे शिक्षा मन्त्रालयले चाँडै निर्णय लिने जानकारी दिए।

‘एसइइ परिक्षा तत्काल गर्न सकिने अवस्था छैन। शिक्षा मन्त्रालयले एसइइ दिन नपाएकाहरुको विशेष व्यवस्था गर्नेछ। नयाँ शैक्षिक सत्रका लागि भर्च्यूअल परिक्षाका लागि पहल गरिनेछ,’ ओलीले भने।