प्रधानमन्त्री ओलीले नेताहरूलाई भने : राष्ट्रियतामा बार्गेनिङ्ग नगरौँ - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

प्रधानमन्त्री ओलीले नेताहरूलाई भने : राष्ट्रियतामा बार्गेनिङ्ग नगरौँ



काठमाडौं– प्रधानमन्त्री केपी ओलीले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावमा सहमति जनाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

आफ्नै आह्वानमा मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति कायम गर्न अपिल गरे ।

सरकारले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र पिम्पियाधुरा समेटिएको नयाँ नक्सा र सोही अनुसारको निशान छाप परिवर्तनका लागि गत बुधबार संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । उनले काँग्रेस र समाजवादी जनता राष्ट्रिय जनता पार्टीसँग संविधान संशोधनका लागि सहयोग मागेका थिए ।

संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाडेपछि नेकपाको सरकारले दुई तिहाई गुमाएको थियो । स्रोतका अनुसार बैठकमा काँग्रेस र जनता समाजवादी दुवै दल संविधान संशोधनका लागि सकारात्मक देखिएका छन् । तर, दुवै दलले आफ्ना सर्त राखेका छन् । काँग्रेसले संविधान संशोधन मात्र नभई राज्य सञ्चालनमा पनि सहाकार्य गर्ने गरी प्याकेजमा सहमति गर्नुपर्ने बताएको छ ।

यस्तै जनता समाजवादीले संविधान संशोधन गर्दा आफ्ना असन्तुष्टि समेत सम्बोधन हुने गरी अरु एजेण्डा समावेश गर्न माग गरेको छ । तर, प्रधानमन्त्रीले संविधान संशोधनमा बार्गेनिङ नगरी राष्ट्रिय एकता प्रदर्शन गर्न भनेका थिए ।

‘नयाँ नक्सालाई मान्यता दिन संविधान संशोधन प्रस्ताव ल्याइएको हो’, ओलीले भने, ‘अरु राजनीतिक विषयमा पनि छलफल गर्दै जान सकिन्छ, तर राष्ट्रियताको विषयलाई बार्गेनिङ चिप्स बनाउन सकिँदैन ।’