प्रचण्ड निवासमा ओलीमाथि खनिए बादल - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

प्रचण्ड निवासमा ओलीमाथि खनिए बादल



माओवादी केन्द्रमा एमालेसँगको एकता प्रक्रिया तत्काल भंग भएको घोषणा गर्ने कि केही समय पर्खने भन्ने बहस सुरु भएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि एमाले अध्यक्ष केपी ओलीले बाम गठबन्धनको भावनाविपरीत मधेसी दलसँग मिलेर प्रधानमन्त्री बन्ने र आफूलाई बाइपास गर्ने षड्यन्त्र गरेको निस्कर्षसहित माओवादीमा एकता कुर्ने कि नकुर्ने भन्ने दुई लाइन देखिएको हो । केही दिनअघि खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा केही नेताबीच भएको अनौपचारिक छलफलमा वरिष्ठ नेता रामबहादुर थापा बादलले एमालेले धोका दिएको भन्दै एकता भंग भएको घोषणा गर्नुपर्ने विचार राखेका थिए । ‘भारतको कुरा सुनेर केपी ओली हामीलाई बाइपास गर्ने योजनाका साथ अगाडि बढिसके’, बादलको भनाइ उद्धृत गर्दै खुबलटार स्रोतले भन्यो, ‘षड्यन्त्र भएको थाहा पाउँदा पाउँदै अब हामी भ्रममा पर्नु हुँदैन ।’ भेटमा सहभागी नेता वर्षमान पुनले भने तत्काल एकता भंग गर्न नहुने धारणा राखेका थिए । जनताले निर्वाचनमा पार्टी एकतालाई अनुमोदन गरिसकेकाले सकेसम्म एकताबाट भाग्न नहुने पुनको भनाइ थियो ।

‘एमालेले एकता चाहेको रहेनछ भने उही जनताबाट नांगिन्छ’, पुनले भने, ‘बहसका क्रममा केही कुरा मिलेन भन्दैमा हतारमा एकता तोड्नु हुँदैन ।’ यद्यपि पुनमाथि भने एमाले निकट सञ्चार माध्यमले एकताविरोधीको आरोप लगाउँदै आएका छन् । पुनको विचारमा अध्यक्ष प्रचण्ड पनि सहमत भएपछि तत्काल एकता भंग नगर्ने सहमति भएको दाबी स्रोतको छ । एमालेले मुख्य पदमा दुई दलबीच भागबण्डा गर्ने पूर्वसहमतिविपरीत पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति र सभामुखजस्ता मुख्य पदमा आफ्नो दाबी गरेको भन्दै माओवादी पछिल्लो समय एमालेप्रति शसंकित बन्दै गएको छ । -काठमाडौं टुडे