ओली प्रचण्डको अभिव्यक्तिले एमसीसीलाई अफ्ठ्यारो
काठमाडौं- सत्ताधारी दल नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अध्ययनका लागि कार्यदल बनाएको नौ दिन बितेको छ ।
१० दिनभित्र पार्टीलाई अध्ययन प्रतिवेदन बुझाउने समय पाएको कार्यदलको म्याद आज सकिँदैछ ।
तर नेकपाका शीर्ष नेताहरु भने कार्यदललाई प्रभावित पार्ने गरी भाषणबाजी गरिरहेका छन् भने अमेरिकी अधिकारीहरु एमसीसीको पक्षमा लबिङ गरिरहेका छन् ।
माघ १९ गते सम्पन्न नेकपा केन्द्रीय समितिको बैठकले पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा एमसीसी सम्झौता अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलले सम्झौताको अध्ययन गरिरहेको बताइए पनि विवरण सार्वजनिक गरिएको छैन ।
तर, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यदलको प्रतिवेदन प्राप्त हुन बांकी हुँदै संसदबाट एमसीसी पारित हुने अभिव्यक्ति दिइरहेका छन् ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि एमसीसी संसदबाट पारित हुने बताइरहेका छन् ।
तर यता त्रिभुवन विश्वविद्यालयका प्राध्यपक डा. राजेन्द्र चापागाई यसरी अभिब्यक्ति दिनु उपयुक्त नभएको धारणा राख्छन् ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी भने अध्ययन कार्यदलकै औचित्य नरहेको ठान्छन् । तीन सदस्यीय कार्यदलमा प्रदिप ज्ञवाली मात्र परियोजनाको पक्षमा देखिएका छन् ।
तर नेकपा निकट विश्लेषक हरिहर पोखरेल जे जस्तो अवस्थामा रहेको भए पनि एमसीसी संसदबाट पारित हुने ठोकुवा गर्छन ।
कार्यदलले प्रतिवेदन नदिई एमसीसीबारे नेकपाको ठोस निर्णय आउने सम्भावना भने छैन ।
तर, नेकपाका दुबै अध्यक्षले दिएका अभिव्यक्तिहरु र अमेरिकी अधिकारीहरुको लबिङका कारण कार्यदल प्रभावित नहोला भन्न चाहीँ सकिंदैन ।