प्रचण्ड निवासमा ओली-प्रचण्ड निर्णायक वार्ता सुरु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रचण्ड निवासमा ओली-प्रचण्ड निर्णायक वार्ता सुरु



काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता शुरु भएको छ ।

दुवै पार्टी एकीकरण र वाम सरकार गठनका विषयमा संशय उत्पन्न भइरहेको बेला आईतबार बिहान ११ बजेदेखि प्रचण्ड र ओलीबीच प्रचण्ड निवास खुमलटारमा निर्णायक वार्ता शुरु भएको हो ।

पार्टी एकीकरण र सरकार गठनका विषयमा वार्ता गर्न एमाले अध्यक्ष ओली प्रचण्ड निवास खुमलटार पुगेका छन् । यस अघिका वार्ता ओली निवास बालकोटमा हुने गरेको भएपनि आज भने ओली आफै प्रचण्ड निवास खुमलटार पुगेका हुन ।

एमालेका ओली पक्षका नेताहरुले सरकार र एकीकृत पार्टीको नेतृत्व ओलीले नै गर्नु पर्ने भन्दै लबिङ गर्न थालेपछि माओवादीमा संशय उत्पन्न भएको थियो । माओवादी नेताहरु दुवै पार्टीका अध्यक्षले सम्माजनक रुपमा पद पाउनु पर्ने बताउदै आएका थिए ।

एमालेले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा माओवादी अध्यक्ष प्रचण्डले एकीकृत पार्टीको नेतृत्व गर्नु पर्ने माओवादी नेताहरुको अडान छ ।

वाम पार्टी एकीकरणका लागि बनेको कार्यदल र दोस्रो तहका नेताहरुमा नेतृत्वका विषयमा सहमति हुन नसकेपछि प्रचण्ड र ओली आफै निर्णायक वार्तामा बसेका हुन ।

आजको वार्तामा पार्टी एकीकरण र सरकार गठनका विषयमा निष्कर्ष निकालिने उच्च स्रोतले जानकारी दिएको छ । ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डलाई एकीकृत पार्टीको नेतृत्व दिनु पर्ने माओवादीको ठम्याइ छ ।

यदि यसमा ओली सहमत नभए दुई वाम एकीकरणको विषय तत्कालका लागि रोकिने छ । माओवादीले सरकारमा एमालेलाई समर्थन गर्ने छ भने पार्टी एकीकरणका लागि छलफल जारी राख्ने र तत्काल एकीकरणको नगरिने उच्च स्रोतको भनाइ छ ।