ओली-प्रचण्ड बैठक सकियो: खास के भयो छलफल ?
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नेकपा सचिवालय बैठक राख्न सकारात्मक देखिएका छन् ।
मंगलबार अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा सचिवालय बैठक आयोजना गर्ने सहमती भएको हो।
केही दिनयता ओलीले आश्वासन दिँदै बैठक आयोजना गर्न अस्वीकार गर्दै आएकाले अध्यक्ष प्रचण्डसहितका नेताहरू भोली नै सचिवालय बस्ने विषयमा विश्वस्त हुन सकेका छैनन्।
पछिल्लो समय प्रधानमन्त्री ओलीले ल्याएका दुई अध्यादेशले नेकपाभित्रको विवाद उत्कर्षमा छ, जसलाई किनारा लगाउन अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका सचिवालयका बहुमत सदस्यले सचिवालय र स्थायी समिति बैठक राख्न पहल गर्दै आएका छन्। तर अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली सहमत नहुँदा बैठक बस्न सकेको छैन।
‘आज दुई अध्यक्ष भेट हुँदा प्रचण्डले अहिले देखिएका समस्या समाधान गर्न बुधबार सचिवालय बैठक राखौं भनेर प्रस्ताव गर्नुभयो’, अध्यक्ष प्रचण्ड निकट एक नेताले भने, ‘ओली पनि बैठक आयोजना गर्न सकारात्मक देखिनु भएको छ तर, भोली नै सचिवालय बस्छ बस्दैन निश्चित छैन।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भोली नै सचिवालय बैठक बस्ने जानकारी आफुलाई नभएको बताए।
मंगलबार भएको करिब एक घण्टा लामो कुराकानीमा अध्यक्ष प्रचण्डले पार्टीभित्र समस्या देखिएको र सरकारप्रति पनि असन्तुष्टी बढेकाले बैठक आयोजना गरी छलफल गरेर समाधान खोज्नु पर्ने बताएका थिए।
‘प्रचण्डले अहिलेको विवाद अब दुई जना अध्यक्षको विषय मात्रै नरहेकाले सचिवालय र स्थायी समिति राखेर छलफल गर्न आग्रह गर्नु भयो’, ती नेताले भने, ‘ओलीले भने आफ्नोविरुद्घ घेराबन्दी गर्न खोजिएको भनेर गुनासो पोख्नु भयो।’
सोमबार कोटेश्वरमा ओली र नेपाल पक्षीय नेताहरूबीच भएको भेटवार्तामा आज मंगलबार नै सचिवालय बैठक आयोजना गर्ने सहमती भएको थियो। आज बैठक नराखिएकाले भोलीको बैठक पनि अनिश्चित बनेको हो।
सचिवालय र स्थायी समिति बैठक आयोजना गर्न ओली तयार नहुनुको कारण उनी दुवै निकायमा अल्पमतमा पर्नु हो। अल्पमतमा परेका बेला प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन खोजिएपछि ओली बैठक टार्दै पहिला आफु जोगिने रणनीति बनाउन व्यस्त देखिन्छन्।
सोमबार ओलीले माधव नेपालसँग वार्ता गर्न चार जना नेताको समूह नै पठाएका थिए भने बालुवाटारमा आफ्नो पक्षका सांसदहरू भेला गरेर पार्टी विभाजन हुने अवस्थाका लागि समेत तयार रहन निर्देशन सदिएका थिए।
त्यस्तै सोमबार राती नै प्रधानमन्त्री ओलीले प्रधानन्यायाधिशलाई बालुवाटार छलफल गरेका थिए।