सबै मन्त्री र मुख्यमन्त्री हटाउने ओलीको प्रस्ताव: ईश्वर पोखरेलले पनि साथ् छोड्दै - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

सबै मन्त्री र मुख्यमन्त्री हटाउने ओलीको प्रस्ताव: ईश्वर पोखरेलले पनि साथ् छोड्दै



काठमाडौं- पार्टीमा एक्लिएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो पद जोगाउन हदैसम्मको उपाय अपनाउन सकिने प्रस्ताव नेताहरूलाई गरेका छन् । उनले संघीय सरकारको नेतृत्वबाहेक अरु सबैमा लचिलो हुनसक्ने प्रस्ताव गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना विशेष दूत प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलमार्फत नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष यस्तो प्रस्ताव पठाएको विषयले अहिले पार्टीमा अर्कै खालको तरंग सिर्जना गरेको छ ।

प्रधानमन्त्री ओली हरेक पटक विवादित भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत बहुमत सचिवालय सदस्य प्रधानमन्त्री ओलीको विकल्पको खोजीमा लागेको हल्लाका बीच यस्तो प्रस्ताव पठाएको बताइएको छ ।

स्रोतले दिएको जानकारी अनुसार ओलीको मन्त्रिपरिषद्का सबै मन्त्री र चारवटै प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्न सकिने प्रस्ताव पठाएको बुझिएको छ । ओलीको प्रस्तावबारे प्रचण्ड–नेपाल पक्षले अहिलेसम्म कुनै ठोस उत्तर नदिएको बताइएको छ ।

हाल मन्त्रिपरिषद्मा रहेका धेरैजसो मन्त्रीहरू बिबादित नै भएको अवस्थामा ओलीको प्रस्ताव मान्न यदि प्रचण्ड नेपाल पक्ष सहमत भएमा धेरै मन्त्री र चार मुख्यमन्त्रीको पद धरापमा पर्नेछ ।

प्रधानमन्त्री ओलीले पठाएको नयाँ प्रस्तावले भने ओलीका अर्का विश्वासपात्र हालका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत केहि समूह असन्तुष्ट बनेको बताइएको छ । ओलीको यस्तो प्रस्तावले कतिपयले ईश्वर पोखरेल पनि कित्ता परिवर्तन गर्न सक्ने आंकलन गरेका छन ।