ओली-मोदीको फोनवार्ता: कालापानीसहित बाँकी समस्या समाधान गर्ने सहमति - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

ओली-मोदीको फोनवार्ता: कालापानीसहित बाँकी समस्या समाधान गर्ने सहमति



काठमाडौं- भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरी दुई देशबीचका समस्या समाधान गरी सम्बन्ध थप सुदृढ बनाउने प्रस्ताव गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना दिन मोदीले बुधबार बिहान ओलीलाई टेलिफोन गरेका थिए ।

दुई प्रधानमन्त्रीबीच दुई देशका समस्या समाधान गर्ने सहमति भएको प्रधानमन्त्री ओलीका कूटनीतिक मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए । उनका अनुसार बिहान साढे १० बजे प्रधानमन्त्री ओली र मोदीबीच संवाद भएको हो । संवादमा कालापानी उल्लेख नगरी दुई देशका समस्या समाधान गर्दै सम्बन्ध थप सुदृढ गर्ने सहमति भएको खबर नयाँ पत्रिकामा पर्शुराम काफ्लेले लेखेका छन्  ।

‘सन् २०१९ मा नेपाल र भारतको सम्बन्ध सुमधुर रहेको र सन् २०२० मा दुई देशबीच बाँकी विषय समाधान गर्दै सम्बन्ध थप सुदृढ गर्न दुवै प्रधानमन्त्रीहरूबीच सहमति भएको छ,’ टेलिफोन संवादबारे जानकार डा. भट्टराईले नयाँ पत्रिकासँग भने । प्रधानमन्त्रीबीच कालापानीलगायत समस्याबारे भने छलफल नभएको भट्टराईले बताए ।

मोदीले पछिल्लोपटक १४ मंसिरमा ओलीलाई चिठी लेखेर स्वास्थ्यलाभको कामनासहित आवश्यक परे भारतमा उपचार गर्न प्रस्ताव गरेका थिए । त्यसको एक महिनापछि टेलिफोन संवाद भएको हो । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएको भट्टराईले बताए ।

टेलिफोन वार्ताबारे प्रधानमन्त्री ओलीले बुधबार बिहानै ट्विटसमेत गरेका छन् । उनले भनेका छन्, ‘हामीले नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान गर्‍यौँ । दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई अझै उचाइ पुर्‍याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्‍यौँ । मैले प्रम मोदीलाई नेपाल भ्रमणका लागि पुनः आग्रह गरेँ ।’ तर, टेलिफोन संवादबारे मोदीको व्यक्तिगत ट्विटर ह्यान्डलबाट भने केही उल्लेख छैन । प्रधानमन्त्री कार्यालयको ट्विटरबाट भने बुधबार साँझ जानकारी दिइएको छ ।

प्रधानमन्त्रीद्वयले बाँकी विषयमा समाधान खोज्न छलफल गरेपछि कालापानीसम्बन्धी दुई देशका विदेशसचिवस्तरीय वार्ताका लागि सकारात्मक माहोल बनेको कूटनीतिज्ञहरूको बुझाइ छ । पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईले प्रधानमन्त्रीद्वयको संवादको परिणाम दुई देशको राजनीतिक र प्राविधिक (प्रशासनिक) तहमा पनि पर्ने जानकारी दिए । उनले भने, ‘दुई प्रधानमन्त्रीको संवादले औपचारिक संयन्त्रमा दुई देशबीच छलफल गर्न सहज परिस्थिति बनाएको छ ।’ तर, सीमासम्बन्धी समस्याले नै दुई देशको सम्बन्ध प्रभावित हुनु नहुने उनको भनाई छ ।

नेपालले डिसेम्बरको पहिलो र तेस्रो साताको मिति प्रस्ताव गरेर विदेशसचिवस्तरीय बैठकका लागि औपचारिक पत्र पठाएको एक महिनापछि भारतले नयाँ मितिमा वार्ताका लागि प्रस्ताव गरेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । नयाँ मितिबारे दुई देशको औपचारिक कूटनीतिक च्यानलमा छलफल भइरहेको छ । ज्ञवालीले भने, ‘भारतले वार्ताबाट समस्या समाधान हुनुपर्ने महसुस गरेको छ र तत्परता पनि देखाएको छ ।’ दुई देशबीच वार्ता भने भारतका विदेश सचिव हर्षबद्र्धन श्रींगलाले कार्यभार सम्हालेपछि मात्रै हुने भारतीय कूटनीतिक स्रोतहरूको भनाई छ ।

मोदीले नयाँ वर्षको अवसरमा ओलीसँगै अन्य देशका प्रमुखहरूलाई पनि टेलिफोन गरेको भारतको प्रेस इन्फर्मेसन व्यूरो (पिआइबी)जे जनाएको छ । पिआइबीले जारी गरेको विज्ञप्तिअनुसार मोदीले ओलीसँगै भूटानका राजा जिग्मी गेसर नाम्ग्याल वांग्चुक, प्रधानमन्त्री डा. लोटे छिरिंग, श्रीलंकाका राष्टपति गोटाबय राजापाक्षे, प्रधानमन्त्री महिन्दा राजापाक्षे, मालदिभ्सका राष्टपति इब्राहिम मोहम्मद सोलिह, बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई टेलिफोन गरेका थिए ।

पीआइबीले प्रधानमन्त्री ओलीसँगको सम्वादमा मोदीले सन् २०१९ मा केही परियोजनाहरू सम्पन्न भएसँगै नेपाल–भारत सम्बन्धको प्रगतिप्रति सन्तोष प्रकट गरेको जनाएको छ । मोदीले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन समयमै सम्पन्न हुनुलाई उल्लेखनीय मानेका छन् । पीआइबीका अनुसार दुवै नेताबीच विराटनगरको संयुक्त जाँच चौकी (आइसीपी) तथा भुकम्पपछि भारतीय सहयोगमा भएका घर पुनर्निर्माण कार्यको भिडियो कन्फरेन्समार्फत् संयुक्त उद्घाटन गर्ने सहमति भएको छ ।

नयाँ बर्ष २०२० का अबसरमा भारतीय प्रधानमन्त्री मोदीले नेपालसहित भूटान, मालदिभ्स, श्रीलंका, बंगलादेशका कार्यकारी प्रमुखलाई पनि टेलिफोन गरेका छन् ।