आत्मनिरीक्षण गर्न नसकेपछि मिडियालाई गाली - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

आत्मनिरीक्षण गर्न नसकेपछि मिडियालाई गाली



बीबीसी- प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमबारे पछिल्लो पटक दिएको अभिव्यक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्।

राजनीतिशास्त्री र सम्पादकले प्रधानमन्त्रीलाई आलोचना सह्य नभएको रूपमा अर्थ्याएका छन् भने प्रधानमन्त्री ओलीनिकट विज्ञ सञ्चारमाध्यममा पनि कमीकमजोरी रहेको बताउँछन्।

मे दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भनेका थिए, “नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ।”

“एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोनाभाइरस महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद कुरा हो।”

यसअघि एक पटक प्रधानमन्त्री ओलीले नेपाली सञ्चारमाध्यमले तपाईँ भन्न नजानेको आरोप लगाएका थिए भने अर्को पटक सरकारले गरेका राम्रा कामको चर्चा नभएको र प्रशंसा गर्नका लागि “मुटु र मन भएका सम्पादकहरू नभएको” बताएका थिए।

‘स्वाभाविक’

राजनीतिशास्त्री कृष्ण पोखरेल सत्ता वा शक्तिमा हुनेहरूले आलोचना मन नपराउनुलाई “स्वाभाविक” रूपमा लिन्छन्।

“प्रायः शासकहरूमा आलोचना नरुचाउने प्रवृत्ति हुन्छ। प्रशंसा रुचाउने एउटा मानवोचित कमजोरी पनि होला,” बीबीसीसँग पोखरेलले भने।

पोखरेलको भनाइसित देशसञ्चार डट कमका सम्पादक युवराज घिमिरे सहमत छन्।

घिमिरेको विचारमा कार्यकारी पदमा हुने व्यक्तिहरू असफल भएपछि अरूलाई दोष दिन थाल्छन्।

वाटरगेट काण्डपछि उत्पन्न परिस्थितिका लागि तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्शनले र भ्रष्टाचारका प्रकरणहरू बाहिर आउन थालेपछि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सञ्चारमाध्यमलाई दोष लगाउने कुरा त्यसैको उदाहरण भएको उनी बताउँछन्।

घिमिरेले थपे, “नेपालमा प्रधानमन्त्री केपी ओलीले अहिले त्यही गरिसकेका छन्। आत्मनिरीक्षणको संस्कृतिमा उनले विश्वास गर्न छाडेका छन्।”

खोज पत्रकारिता केन्द्रका सम्पादक तथा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले पनि शासकहरूलाई आलोचना प्रियकर नहुने तर्कप्रति फरक मत राख्दैनन्।

गाउँले भन्छन्, “शक्तिमा भएकाहरूलाई सञ्चारमाध्यमले उठाएका प्रश्न प्रिय लाग्दैन र जवाफ दिनुको सट्टा सञ्चारमाध्यममाथि खनिन पुग्छन्।”

तर कमीकमजोरी एउटा पक्षमा मात्रै नरहेको कतिपयको बुझाइ रहेको छ। त्यस्तैमध्ये एक हुन् प्रधानमन्त्री ओलीका पूर्वप्रेस सल्लाहकार कुन्दन अर्याल।

सञ्चारमाध्यमप्रति प्रधानमन्त्री कि प्रधानमन्त्री ओलीप्रति सञ्चारमाध्यम बढी आलोचनात्मक भएका हुन् भन्ने प्रश्नमा दुवै रहेको उनी बताउँछन्।

‘केही मिडिया गैरजिम्मेवार’

सबै सञ्चारमाध्यमलाई एउटै डालोमा राखेर प्रधानमन्त्री ओलीले पनि हेर्न नहुने अर्यालको तर्क छ।

यद्यपि कतिपय सञ्चारमाध्यममले पनि आफू पूर्वाग्रही छैन भन्ने कुरा प्रमाणित पनि गर्नुपर्ने उनको भनाइ छ।

“केही मिडियाले जिम्मेवारी बोध नगर्ने र मिडियाको नाममा जे पायो त्यही लेखिदिने पनि छन्,” अर्यालले बीबीसीसँग भने।

तर सञ्चारमाध्यमहरू प्रधानमन्त्री ओली अथवा उनका सरकारप्रति अनावश्यक रूपमा आलोचनात्मक भएको आरोपलाई न राजनीतिशास्त्री पोखरेल सही मान्न तयार छन् न त सम्पादकद्वय घिमिरे र गाउँले नै।

लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमहरू आलोचनात्मक नभए त्यसको अर्थ नहुने पोखरेलको ठम्याइ छ।

उनी भन्छन्, “राम्रा कुराको प्रशंसा गरेका छन् र नराम्रा कुरा ‌औँल्याएका छन्। सबै कुरा राम्रो र ठीक छ भन्ने ढङ्गले सरकारी सञ्चारमाध्यमले ल्याउँछन् भने वैकल्पिक स्रोतले कुराहरू उधिनेर ल्याउँछन्।”

नेपाली पत्रकारले वर्तमान सरकारले गरेका नराम्रा कामलाई मात्रै देख्ने गरेको कुरातर्फ इङ्गित गर्दै सम्पादक घिमिरे प्रधानमन्त्री ओलीलाई नाकाबन्दी ताकाका कुरा स्मरण गराउँछन्।

“भूकम्पपछि भारतले गरेको नाकाबन्दीविरुद्ध ओलीले लिएको अडानलाई नेपाली सञ्चारमाध्यमले सकारात्मक रूपमा प्रस्तुत गरे।”

घिमिरे भन्छन्, “त्यसले उनीप्रति सकारात्मक धारणा बनाउन जनतालाई सहज बनायो।”

हुन त सञ्चारमाध्यमले ओली सरकारले गरेका राम्रा वा नराम्रा काममध्ये कुन कुरालाई बढी महत्त्व दिएका छन् भन्ने कुरा तथ्याङ्कमै भन्नका लागि निश्चित समयको समाचार हेर्नुपर्ने गाउँलेको भनाइ छ।

तर खोजीखोजी नेपाली सञ्चारमाध्यमले नकारात्मक कुरा लेख्ने गरेको दाबीसँग उनी सहमत छैनन्।

“सञ्चारमाध्यमले नकारात्मक कुरा मात्रै खोजेको जस्तो मलाई चाहिँ लाग्दैन, सकारात्मक समाचार लेख्न उनीहरू आतुर रहेको देखिन्छ,” गाउँलेले थपे।