ओलिमाथि अझै सङ्कट
काठमाडौं– सत्तारुढ दल नेकपामा सरकारले अध्यादेश फिर्ता लिएपनि प्रधानमन्त्री ओलिमाथिको सङ्कट भने कायमै छ ।
अध्यादेश फिर्ता लिएपनि स्थायी समिति बैठक बोलाउन भने पार्टी भित्र चर्को दबाव बढेको छ । सरकारले शुक्रवार दुई अध्यादेश फिर्ता लिएर राष्ट्रपतिले खारेज गरेपछि पनि नेकपाभित्र स्थायी समिति बैठक बोलाउने मुद्दा भने कायमै छ ।
सरकारले अध्यादेश ल्याएपछि स्थायी समितिका २० जना सदस्यहरुले तत्काल स्थायी समिति र केन्द्रिय समितिको बैठक बोलाउन माग गरेका थिए । बिहिवार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, नारायणजी श्रेष्ठ,बामदेव गौतम र विष्णु पौडेलको भैसेपाटीमा बसेको बैठकले तत्काल अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको थियो ।
भैंसेपाटी गठवन्धनको निर्णयपछि प्रधानमन्त्री ओलीले शुक्रवार विहान मन्त्रिपरिषदको बैठक बोलाएर अध्यादेश फिर्ता लिने निर्णय गरेपनि बैठक बोलाउन भने पार्टीभित्र दबाव छ ।
मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश आवश्यक भएरै ल्याएको भए पनि पार्टीभित्र र विपक्षी दलहरुले समेत विरोध गरेका कारण फिर्ता लिनु परेको भन्दै सबै मन्त्रीहरुलाई अब कोरोना रोकथाम र नियन्त्रणकै विषयमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीले बिहिवार विहान अर्का अध्यक्ष प्रचण्ड र नेता नेपालसंग अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाइसके पनि छुट्टै भेला गरेर निर्णय गर्ने तरिकाप्रति भने असन्तुष्टि जनाएको स्रोतको दावी छ । उनले कोरोनालाई मध्यनजर गरेर राहत प्याकेज ल्याउनुपर्ने र अव बजेटको तयारीमा लाग्नुपर्ने अवस्था भएकोले पनि तत्काल स्थायि समिति बैठक नबस्ने प्रष्ट पारेका थिए ।
प्रधानमन्त्री ओली स्थायि समिति बैठक बोलाउने मुडमा नभएपनि पार्टीभित्र भने बैठक बोलाउन दबाव बढेको छ । अध्यादेश फिर्तापछि नेकपाको सचिवालयका सदस्य समेत रहेका पुर्व प्रधानमन्त्री झलनाथ खनालले अध्यादेश फिर्ता लिएर प्रधानमन्त्रीले राम्रो काम गरेको भन्दै तत्काल स्थायि समिति बैठक बोलाउनुपर्ने बताए ।
‘उहांले अध्यादेश फिर्ता लिएर राम्रो काम गर्नुभयो, तर नैतिकताको पाटो भने अझै बांकी छ ।’ अब स्थायी कमिटी बोलाएर वृहत्तर छलफल गर्नुपर्ने आवश्यकता छ । ’ खनालले भने ।
स्थायी समिति सदस्य पम्फा भुसालले अध्यादेश फिर्ता गरेर आधा माग पुरा भएको भएपनि बैठक बोलाउनुपर्ने माग भने बांकी रहेको बताईन् । ‘अध्यादेशले पार्टीले ठुलै क्षति पुर्याएको छ, अव स्थायी समिति बैठक बोलाउनुपर्छ, हामी बांकी विषय त्यही छलफल गर्छौ ।’ भुषालले भनिन् ।