जनतालाई महामारी, प्रधानमन्त्रीलाई मजाक: के गर्नुपर्थ्यो र के गर्दैछन् ओली ? - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

जनतालाई महामारी, प्रधानमन्त्रीलाई मजाक: के गर्नुपर्थ्यो र के गर्दैछन् ओली ?



काठमाडौं- आपतको यो वेला प्रधानमन्त्रीले स्वास्थ्यविज्ञ, मुख्यमन्त्री, प्रतिपक्षी नेताहरू तथा अन्तर्राष्ट्रिय साझेदारसँग ‘ब्याक टु ब्याक’ रणनीतिक छलफल गर्नुपर्ने हो।

तर हाम्रा प्रधानमन्त्री आफ्नै दलको झमेलाबाट बाहिर निस्केका छैनन्, निस्किएको वेला पनि अस्पतालमा भेन्टिलेटर होइन, मन्दिरमा गजुर झुन्ड्याउन आतुर छन्।

नयाँ वर्षको पहिलो दिन प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रम गरेर प्रधानमन्त्री केपी ओलीले माओवादीका बहिर्गमित लडाकु र मधेसी आन्दोलनकारीलाई सम्बोधन गरे ।

४ वैशाख : सर्वदलीय बैठक
प्रधानमन्त्री ओलीले एमसिसी, उपनिर्वाचन, कोभिड–१९ महामारीलगायतका विषयमा सर्वदलीय बैठक गरे, तर सरकारको कुनै रणनीति प्रस्तुत गरेनन् ।

६ वैशाख : एमाले १०औँ महाधिवेशन आयोजक कमिटीको बैठक

यही दिन बिहान ओलीले बालुवाटारमा मन्त्रिपरिषद् डाकेर २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नदिने र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरे । तर, दिउँसो करिब २६५ जना नेताहरूको उपस्थितिमा बालुवाटारमा नै राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक राखे ।

७ वैशाख : राम–सीताको मूर्तिमा बालुवाटारमा अनुष्ठान
प्रधानमन्त्रीले आफ्नै निवास बालुवाटारमा सयौँ मान्छे जम्मा गरेर राम–सीताको मूर्तिमा पूजा गरे । देवघाट हुँदै चितवनको माडी पुग्नलाई पाँच सय गाडीको शोभायात्रालाई बालुवाटारबाट बिदा गरे ।

८ वैशाख : प्रधानमन्त्रीको निर्देशनमा माडीमा चार हजारको भिड

निर्वाचनका र्याली र कुम्भ मेलाले भारतमा महामारी फैलाएको समाचार विश्वभर प्रसारित हुँदा पनि मूर्ति प्रतिस्थापन गर्न गत बुधबार पर्यटनमन्त्री भानुभक्त ढकाल र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा चितवनको माडीमा चार हजार मान्छेको भिड जम्मा भयो ।

९ वैशाख : पार्टी कार्यालय उद्घाटन र शिलान्यास
ओलीको उपस्थितिमा एमालेको नयाँ केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सारियो । नेता कार्यकर्तासहित ओली थापाथली पुगे । त्यसपछि बल्खुमा पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरे ।

१० वैशाख : राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक

ओलीले शुक्रबार करिब ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक गरे । उक्त बैठकमा करिब अढाई सयभन्दा बढीको संख्यामा देशभरबाट आएका नेताहरूको उपस्थिति थियो ।

मेडिकल डाक्टरहरूको छाता संगठन नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की देशका प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूले जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको गुनासो गर्छन् । हालै बेलायती महारानीका श्रीमान्को निधनको प्रसंग स्मरण गर्दै उनी भन्छन्, ‘अन्तिम संस्कारमा ३० जना मात्रै सहभागी भए । श्रद्धाञ्जली दिन प्रधानमन्त्रीसमेत जान पाएनन् । बेलायतमा लकडाउन वा स्वास्थ्य मापदण्डको पालना नगर्दा सरकारी सेवाबाट समेत हटाइएका धेरै उदाहरण छन् । कतिपयलाई जरिवाना गरिएको छ।’

तर, नेपालमा भने स्वास्थ्य मापदण्डमाथि खेलबाड गरिएको बताउँछन् । ‘सरकारले रेडियो–टेलिभिजनमा ठूलो रकम खर्च गरेर हात धुनुपर्छ, दुई मिटरको दूरी कायम गर्नुपर्छ, २५ जनाभन्दा बढी जम्मा नहुनुहोला भनेर सन्देश दिने, तर नेताहरूले भने हुलका हुल मान्छे जम्मा गर्ने? यो चरम लापरबाही हो,’ डा.कार्की भन्छन् ।

त्यस्तै नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राई पनि कुरा धेरै र काम थोरै भएकाले स्थिति संकटपूर्ण भएको बताउँछिन् । ‘अहिलेसम्म महामारी नियन्त्रणका लागि सरकारले युद्धस्तरमा काम गर्नुपर्ने हो । तर, सरकारले जनतासँग मापदण्डको पालना गर भन्ने, तर प्रधानमन्त्री आफैँले ठूलो जमात भेला गरेर कार्यक्रम गर्ने? आफैँले गरेको निर्णयलाई जिस्क्याउने काम भयो,’ राई भन्छिन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा संकटले चेतावनी दिए पनि देशको तयारी निराशाजनक रहेकोमा चिन्तित छन् । ‘भारतमा अहिले जुन स्थिति छ, त्यो नेपालमा नआउला भन्न सकिन्न । तर, हाम्रो पूर्वतयारी खासै छैन । महामारी रोकथाम तथा नियन्त्रणका लागि हामीले जुन गम्भीरताका साथ पहल गर्नुपथ्र्यो, त्यो गर्न सकेका छैनौँ,’ गोल्छा भन्छन्, ‘सरकार थप गम्भीर हुन आवश्यक छ । अहिले २५ जनाभन्दा बढीको सभा–सम्मेलन गर्न रोक लगाइएको छ, तर कार्यान्वयन भएको छैन, राजनीतिक सभा–सम्मेलन जारी नै छन्।’

होटेल संघ नेपाल (हान)की अध्यक्ष सिर्जना राणाको सुझाब निक्कै महत्वपूर्ण छ । उनी होटेललाई हस्पिटल र आइसोलेसन बनाउनेतर्फ सरकारले पहल लिनुपर्ने सुझाब दिन्छिन् । ‘अहिले फैलिएको भेरियन्ट अलि डरलाग्दो छ भन्ने देखिएको छ, त्यसैले सरकारले रोकथाममा तत्कालै पहल गर्नुपर्छ, किनकि अर्को लकडाउन हाम्रो अर्थतन्त्रले धान्न सक्दैन । दैनिक तीन लाख संक्रमित भेटिँदा पनि भारतले लकडाउन गर्न सकेको छैन,’ उनी भन्छिन्, ‘भारतमा जस्तै नेपालमा पनि संक्रमण भयावह हुन सक्छ, हस्पिटलमा बेड नपाउने अवस्था हुन सक्छ । सरकारले अहिले नै होटेललाई हस्पिटल र आइसोलेसन बनाउनेतर्फ तत्काल ध्यान दिनुपर्छ।’

अत्यावश्यक स्वास्थ्य सामग्रीसहित होटेललाई हस्पिटल र आइसोलेसन बनाउन सकेमा बेडको अभाव नहुने उनको तर्क छ । ‘अहिले घुमफिर गर्न आउने पर्यटक नहुँदा होटेलका बेड खाली पनि छन् । होटेललाई हस्पिटल र आइसोलेसन बनाउँदा जनताको जीवन रक्षा हुन सक्छ, यसका लागि तत्कालै पहल लिनुपर्छ,’ उनी भन्छिन्। नयाँ पत्रिकामा खबर छ ।