भेट्न गएका अभियन्तालाई ओलीले ग्रयाभिटेशनको थेउरी पढाएर पठाए - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

भेट्न गएका अभियन्तालाई ओलीले ग्रयाभिटेशनको थेउरी पढाएर पठाए



काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभियन्ताहरूलाई ग्रयाभिटेशनको थेउरी पढाएर पठाएका छन् । उनीहरूसँग ओलीले उनले पूर्वीय सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन्।

एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पारे। संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उनले पूर्वजहरुसँग अरु कसैको तुलना हुन नसक्ने बताएका थिए।

सभ्यताको ज्योति पूर्व (विशेषगरी नेपाल) बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको प्रवचन समेत दिएका थिए। अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गरेका थिए।

सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरुलाई आफ्नो सदा साथ रहने ओलीको प्रतिबद्धता थियो। गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले भन्दा हजारौं वर्ष अगाडि पूर्वीय विद्वान भास्कराचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको दावी गरेका थिए। अष्टवक्रजस्ता दार्शनिकको चर्चा हुन नसकेको उनको भनाइ थियो।

यस्तो थियो ओलीको भनाइ

हाम्रो पूर्वजहरुसँग कसैको तुलना हुँदैन। हाम्रो सभ्यतासँग, सभ्यताको सृष्टि यहाँ भएको थियो। सभ्यताको सृष्टि भएको ठाउँ भएको हुनाले र सभ्यताको विकास यहाँ भएको थियो। पछि अन्त त छरियो। एक ठाउँमा आगो बालेपछि ज्योति त परपर गईहाल्छ त। यहाँ आगो बालियो, अन्त ज्योति फैलियो। पछि आगोका झिल्को लिएर गएकाहरु प्रमिथस भएर निस्के। लक्ष्मीप्रसाद देवकोटाले एउटा प्रमिथस भन्ने महाकाव्य छ नि। अरु एउटा झिल्कोबाट प्रमिथस भएर निस्के।

हाम्रो ठाउँकाहरुलाई दाउरा थप्ने पनि कोही भएन। घिउ थप्ने पनि कोही भएन। केही नगरेपछि निभेर गयो। त्यसकारण हाम्रो ज्ञानचाँही पछाडि पर्‍यो। उनीहरुको ज्ञान अगाडि बढ्यो। अनि इतिहास के भयो भने ग्यालिलियोले यसो गरे। न्यूटनले ग्रयाभिटेशनको थेउरी पत्ता लगाए। भास्कराचार्यको कुरै छैन। यी विद्वानहरुको त कुरै छैन।

पहिलो दार्शनिक को थिए? भन्दाखेरी शुकरात। शुकरातभन्दा हजारौँ वर्ष अगाडि अष्टवक्रजस्ता फिलोसफरहरुको कुरै छैन। त्यसकारण यो ज्ञानभूमि हो, हाम्रो पूर्वजहरुले एकदम ठिक भनेका छन्– यो ज्ञानभूमि हो, पुण्यभूमि हो। देवभूमि हो। ध्यानभूमि हो। तपोभूमि हो। त्यसकारण ज्ञानभूमि हो। त्यो ज्ञान, त्यो तपको सृजना, ती अभ्यासहरुको सृजना, तीनको समष्टिलाई हामी हाम्रो सभ्यता, हाम्रो इतिहास, संस्कृति भन्छौं। त्यसलाई जोगाउनु पर्छ।

तपाईहरुको यो जोगाउने प्रयासलाई धेरैधेरै प्रशंशा गर्दछु। धन्यवाद भन्छु। र तपाईहरुको अभ्यास कायम राख्नुस। मेरो आफ्नो ठाउँबाट तपाईहरुको अभ्यासलाई साथ छ।