प्रधानमन्त्री ओलीले चैत २३ भित्र विश्वासको मत लिनुपर्ने - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रधानमन्त्री ओलीले चैत २३ भित्र विश्वासको मत लिनुपर्ने



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले यही चैत २३ गतेभित्र सरकारले विश्वासको मत लिनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गुरुङले सो अवधिभित्र विश्वासको मत नलिए सरकारको संवैधानिक हैसियतमा प्रश्न उठ्ने बताएका हुन् ।

सर्वोच्च अदालतको फाुगन २३ गतेको फैसलाले तत्कालीन सत्तारुढ दल नेकपा विभाजित भएको भन्दै त्यस्तो अवस्थामा विश्वासको मत लिनुपर्ने उनले बताए । उनले सत्तारुढ दल विभाजित भएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १०० (२)को व्यवस्था स्मरण गराउँदै यस्तो बताएका हुन् ।

त्यस्तै, उनले सरकार पुस ५ गतेकै मानसिकता अर्थात प्रतिनिधिसभा भंग गर्ने र निर्वाचनमा जाने मनस्थितिमा रहेको आरोप पनि लगाए ।

प्रतिनिधिसभा भंग भएमा संविधान विफल हुने भन्दै सरकार त्यसैतर्फ उद्धत रहेको उनको टिप्पणी थियो । गुरुङले संविधानले नचिन्ने ताजा जनादेश के हो ? भन्दै प्रश्न पनि गरे । सरकार निर्वाचन गराउनभन्दा पनि संविधान समाप्त गर्नेतर्फ केन्द्रित भएको उनको आरोप थियो ।

संविधान मिच्ने र विधिको शासन निषेध गर्ने सरकारको प्रवृत्ति देखिएको भन्दै उनले सरकारले सदनलाई बिजनेस दिनुपर्ने भए पनि नदिएकाले प्रतिनिधिसभा एजेन्डाविहीनताको अवस्थामा रहेको बताए ।

सर्वोच्च अदालतबाट फागुन २३ को नेकपा विभाजन गर्ने गरी भएको फैसलाले संविधानमा दलीय स्वतन्त्रता सुरक्षित गरेको भए पनि राजनीतिक दलको स्वतन्त्रता हनन् भएको गुरुङको भनाइ थियो ।