ओलीज्यु, ५० बिगाहा जमिनको भोज हो सोल्टीमा ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओलीज्यु, ५० बिगाहा जमिनको भोज हो सोल्टीमा ?



किङ खनाल

सायद कुनै पनि नेपालीले भारतले दिएका पटक पटकका उपहारहरू बिर्सेका छैनन् । जहिले जघन्य उपहारहरू दिएर हामीलाई हैरान पार्ने र फकाउन नेताका दैला चाहारेर नौटङ्की गर्ने कसैको नभएको छिमेकी हाम्रै हो, भारत नै हो । बाघ चाल र चेसका चाल भन्दा भव्य चाल चलेर कुटिलतापुर्वक नेपाल र नेपालीमाथि अदृश्य राज गर्ने हाम्रो छिमेकीको आदत भैसकेको छ ।

महिनौं लामो नाकाबन्दीको घाउ सुक्न नपाउँदै पूर्वमा ५० बिगाहा जमिन हडपेको छ हाम्रो आफ्नै छिमेकीले, अहिले मात्र होइन वर्षमा २-४ वटा सीमा मिचेका, जग्गा हडपेका समाचारहरू बनिरहन्छन हाम्रा अखबारहरूमा । यति हुँदा पनि बेखबर नेताहरू लुरुलुरु सोल्टी होटेलमा जान्छन् र माईतिमा आएकी दिदीलाई जस्तै सास्टाङ्ग दण्डवत सहित जी हजुरी गर्छन् ।

शुक्रवार बिहानैदेखि सामाजिक सञ्जाल देखि पत्रपत्रिकामा शुस्मा स्वराज र सोल्टी होटेलमा भएका वान टु वान भेटका खबरले कानका जाली फुट्नेगरी स्वर मच्चाए । ओलीले दिएको रात्रिभोज र सरकार बनाउन दिएको आशीर्वाद गुन्जिए तर, गुन्जिएन केही समय अगाडी लगाएको नाकाबन्दी र देशले भोगेको पिडा । मच्चिएन पूर्वमा हालै भारतले हडपेको ५० बिगाहा नेपाली भूमिको हल्ला ।

जनताले दिएको भोटको भन्दा छिमेकीको आशार्बादको भरोसा लाग्ने हाम्रो राजनीतिक संस्कार अचम्मको बन्दै गएको छ । बाम एकता गरेर देशको मुहार फेर्छौँ भन्दै जनतालाई बाचा गरेकाहरु पनि सरकार बनाउने कि नबनाउने भन्ने सल्लाह छिमेकीसँगै लिने गरेको हामीले प्रस्टै देख्छौँ । हजार हण्डर र ठक्कर खाएर पनि हाम्रो घैंटोमा घाम नलागेको देख्दा हामी कहिले सोझो नहुने पुच्छर बोकेका मान्छे जस्तै भएका छौँ । सँगै हिनेको साथीलाई सम्झाउने हिम्मत नभएर छिमेकी गुहार्ने परिपार्टीको सिर्जना गरिरहेका छौँ ।

९० प्रतिशत भन्दा बढीले अनुमोदन गरेको संविधान बनाउँदा स्वीकार गर्न नसक्ने भारत हो भन्ने अस्तिको घटना बिर्सेका नेपालका राजनीतिक प्राणिहरुको चेत कहिले आउला भनेर जनताले कुरिरहेका छन् । दुई तिहाइको सरकार बनेर मुहार फेर्ने आशामा बसेका देशवासीका आँखामा जालो लाग्न थालिसक्यो । राष्ट्रबाद भनेर कुर्लिने नेताले पनि लम्पसार परेर बुझाएको स्वाभिमानको तस्बिर सामाजिक सञ्जालमा भईरल बन्यो । भारतका विदेशमन्त्री आउँदा देश उज्यालो बन्यो भन्ने खबर अखबारमा छापिन थाल्यो । तर पनि राष्ट्रको स्वाभिमान जोगाउने भन्दै जनतालाई ललिपप देखाउने राजनीतिक जमात सक्रिय छ हाम्रै देशमा ।

सरकारमा रहनेहरू त उहिले नै भारतीय भनेर डामिएका हुन् उहिहरु कहिल्लै आवाज उठाउन सक्दैनन् भनेर जनताले आशा नै गर्दैनन् तर, अस्ति भर्खर हामी आफैले राष्ट्रबादी बनाएका केही थान मान्छेहरू पनि स्वाभिमान र अपमानबिच फरक नभएको उदाहरण दिँदै छन् । राष्ट्रवादको नयाँ स्वाद पस्किन्दै छन् ।

१९५० को सन्धिको त कुरै नगरौँ, दर्जनौँ नेताले भेट्दा पनि ताजा नाकाबन्दीको हिसाब खोजेनन् छिमेकीसँग, भर्खर मिचिएको ५० बिगाहा नेपाली जमिनको कुरा गर्न सकेनन् ? न बन्दरगाहामा महिनौं अड्किने सामानको कुरा गरे, न भारतमा प्रतिबन्धित गरिएका कृषि उपजको कुरा गरे, न त सिमानामा कांडेतारको कुरा गरे । कुरा धेरै गरे घन्टौं गरे तर देशको लागी केही गरेनन् ।

प्रश्न जन्मिएला कि ओलीलाई वा केहिथान नेतालाई मात्र दोष किन ? यसको एउटा खास कारण छ नेपालमा राष्ट्रबादी भनेर छाप लगाइएका केही थान मात्र नेता छन् ती मध्ये तपाईँ हामीले हालसालै प्रमाणित गरेका जवरजस्त राष्ट्रवादी भनेका ओली मात्र हुन् । भारतले लगाएको नाकाबन्दीको जमेर विरोध गरे, जनतामा स्वाभिमान जगाए, भारतले बोलाउँदा गएनन्, आफ्नो अडान कायम राखे यसैलाई जनताले राम्रो मानेर भोट दिएर भकारी भरिदिए तर, जनताको भोटले भन्दा नाकाबन्दी जस्तो उपहार दिएर गुण लगाएको भारतको आशीर्वादले सरकार बन्ने आशा बोकेर आफू भन्दा कम ओहदाको एउटा सामान्य विदेशमन्त्रीसंग लम्पसार परे । त्यो पनि उनी बसेको होटलमै पुगेर ।

भेटघाट ओली केन्द्रित थियो र भयो । ओलीले यो उपलक्ष्यमा सोल्टी होटेलमा भोज पनि गरे, सायद उनको स्वागतले छिमेकी खुसी पनि भयो होला तर हामीले सबै भन्दा बढी राष्ट्रबादी बनाएका ओलीले नाकाबन्दीको हिसाब मागे ? ५० बिगाहा जमिन किन हडप्यौ भनेर प्रश्न गरे ? चीनको डरले सम्बन्धको हात लम्काएको भारतसँग अडान कायम राखे त ? यसैले सोध्न मन लाग्यो ओली जी, ५० बिगाहा जमिनको भोज थियो सोल्टीमा ? होईनभने किन चाहियो सोल्टीमा भोज ? त्यो पनि कहिले भलो नचाहने छिमेकीलाई ?